प्रदेश १ मा दुग्धजन्य क्षेत्रमा नयाँ सोचको खोजी, च्यालेन्ज फण्ड मार्फत् २ करोडको लगानी हुने

विराटनगर । प्रदेश १ मा डेरीसँग सम्बन्धित क्षेत्रमा एक वर्षमा २ करोडको लगानी हुने भएको छ ।

स्वीस सरकारले च्यालेन्ज फण्डमार्फत् डेरी, तरकारी, मकै र अलैँचीमा लगानी गर्नको लागि आइडिया स्टुडियोमार्फत् सहज परियोजना संचालनमा आउने भएको हो । विराटनगरमा पत्रकार सम्मेलन गरि परियोजनाको बारेमा जानकारी दिँदै सहज परियोजनाकी म्यानेजर सुभेच्छा श्रेष्ठले प्रदेश १ मा डेरी सम्बन्धी नयाँ केही गर्न खोज्ने नविनतम सोच भएका कृषक तथा उद्यमीलाई सहयोग गरिने जानकारी दिइन् ।

पहिलो चरणमा दुध, तरकारी, अलैँचीमा काम गरेको परियोजनाले दोश्रो चरणमा डेरीसँगसम्बन्धित उत्पादनमा केन्द्रीत भएर नविनतम सोच भएकाहरूलाई लगानी गर्न खोजिएको जानकारी दिइन् । ‘प्रदेश १ मा डेरी सम्बन्धि नयाँ केही गरौँ भन्ने सोच भएका उद्यमीलाई सहयोग गर्ने योजना छ , उनले भनिन्, नविनतम सोच भएका उद्यमी र प्रशोधन कर्ताको उत्पादन, प्रशोधन र बजारीकरणसँग जोडेर जाने तयारी छ ।’

प्रदेश १ मा उत्पादन नभएका दुग्धजन्य उत्पादन, अन्न्तराष्ट्रिय बजारमा भएका तर नेपालमा नभएका, अन्य प्रदेशमा उत्पादन भएका तर प्रदेश १ मा नभएका दुग्धजन्य उत्पादनमा यो कार्यक्रम लागु हुने उनले जानकारी दिइन् । एक वर्षको अवधिमा २ करोड अनुदानको रूपमा उपलब्ध गराउने तयारी छ । पत्रकार सम्मेलन गरेको मिति असार ९ गतेदेखि आगामी साउन ६ गतेसम्म नविनतम सोच सहितको प्रस्तव पेश गर्न आह्वान गरिएको छ । उत्कृष्ट नविनतम सोचलाई ५ देखि ५० लाखसम्म सहयोग गर्ने जनाइएको छ।

नेपाल एग्रिकल्चर मार्केट डेभलपमेन्ट कार्यक्रमका टिम लिडर रिक भान डेर काम्पले नेपालको लागी किसान लक्षित भएको बताए । पहिलो चरणमा धेरै किसानसँग मिलेर काम गरेको भएपनि दोश्रो चरणमा डेरीसँग जोडिएर नविनतम सोच भएकाहरुसँग काम गर्नेगरि परियोजना आएको बताए ।

प्रदेश १ कृषि मान्त्रालयका सचिव मेघटान तिमल्सेनाले प्रदेशले दुध र मासुमा फड्को मारेको बताए । दुध प्रशस्तै उत्पादन भएको भएपनि त्यसबाट कसरी नयाँपनको विकास गरी उत्पादनमा जोड दिने भन्ने विषय महत्त्वपूर्ण रहेको बताए । नयाँ सोच भएकाहरूको लागि सहयोग गर्ने भनेर आएको यो कार्यक्रमले त्यस्ता सोच भएकालाई व्यवसाय र उद्यम गर्न टेवा पुग्ने उनले बताए ।

दुधबाट बन्ने डेरीका उत्पादन अहिले बिदेशबाट आयात भइरहेको अवस्थामा प्रदेश १ मा नै उत्पादन गर्न सकियो भने त्योभन्दा राम्रो अरू केही हुन नसक्ने उनको तर्क छ । यो परियोजना सफल हूँदै गएको अवस्थामा प्रदेश सरकारले पनि लगानी बढाउने उनले तर्क गरे । खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरका प्रमुख राजुकुमार रिजालले आयातलले बजार थलिएको बेला सञ्चालनमा आएको परियोजनाले धेरै विषयमा ध्यान दिन सुझाव दिए । भौतिक पूर्वाधार, तालिम, निरीक्षण अनुगमन, त्यसको गुणस्तर, सुरक्षा र बजारीकरणमा ध्यान दिनुपर्नेमा जोड दिए ।

आइडिया स्टुडियोका अध्यक्ष डा. छिरिङ लामाले उत्पादनसँग जोडेर प्याकेजिङ, भण्डारण र बजारीकरणमा पनि सहयोग हुने बताए । नयाँपन प्याकेजिङ र ढुवानीसँग पनि जोडिएर आउनेमा आफू विश्वस्त रहेको उल्लेख गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *