भरतपुरले ल्याउँदै गरेको ६ अर्ब बजेटमा केके योजना छन् ?

चितवन । चितवनको भरतपुर महानगरपालिकाले झण्डै ६ अर्बको बजेट ल्याउने तयारी गरेको छ ।

आर्थिक वर्ष २०७९-०८० का लागि भरतपुर महानगरले करिब ६ अर्ब बजेटको तयारी गरेको प्रमुख रेनु दाहालको भनाइ छ । भोलि असार १० गते शुक्रबार भरतपुर महानगरको ११ औँ नगर सभा गर्दैछ । सोही नगर सभामा नीति कार्यक्रम तथा बजेट प्रस्तुत हुनेछ ।

महानगरपालिकाका लेखा प्रमुख जगन्नाथ अर्याल चालु आर्थिक वर्षको बजेट रु. चार अर्ब ८५ करोड थियो । आगामी वर्षको लागि एक अर्ब बजेट बढ्ने उनले आंकलन गरे । बजेटले कृषि, शिक्षा र स्वास्थ्यमा विशेष जोड दिने बताइएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालादेखि उत्पादन र रोजगारीलाई प्राथमिकता दिने गरी बजेट विनियोजन गरिने प्रमुख दाहाल बताउँछिन् । उनले भनिन्, ‘गत पाँच वर्ष भौतिक पूर्वाधारअन्तर्गत सडकमा जोड दिएर बजेट विनियोजन गरेका थियौँ, यसपटक उत्पादन, रोजगारी र भौतिक पूर्वाधारअन्तर्गत ढलमा बढी जोड दिनेछौँ ।’

भरतपुर महानगरले यसपटक ठूला आयोजनामा लगानी बढाउने तयारी गरेको छ । पुराना ठूला आयोजनाहरू निर्माणाधीन अवस्थामा छन् । पुल्चोक गोन्द्राङ ६ लेन सडक, सिटी हल, नारायणी नदी तटबन्ध संघीय सरकारको बजेटमा निर्माणाधीन अवस्थामा छन् । यसपटक नारायणी नदीमा सिग्नेचर पुल निर्माणलाई महानगरले अघि बढाउने भएको छ ।

महानगर प्रमुख रेनु दाहालले भनिन्, ‘सिग्नेचर पुलको लागि संघीय तथा प्रदेश सरकारलाई बजेटको व्यवस्थापन गर्न भनिसकेका छौँ, महानगरको आन्तरिक बजेटले थेग्न नसक्ने आयोजनाहरूलाई संघीय सरकारबाट बजेट पार्न पहल गर्नेछौँ ।’

सङ्घ र प्रदेश सरकारले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि केही बजेट विनियोजन गरिसकेको छ । प्रदेश सरकारले ५ करोड बजेट क्रिकेट रंगशालालाई पारेको छ । आफ्नो आन्तरिक स्रोतबाट पनि केही रकम क्रिकेट रंगशालामा लगाउने भरतपुर महानगरले जनाएको छ ।

संघीय सरकारबाट भरतपुर १५ मा शिक्षक अस्पताल बनाउनको लागि बजेट परिसकेको छ भने भरतपुर विमानस्थल विस्तारको गृहकार्य मन्त्रिपरिषदमा पुगे पनि फाइल अघि बढेको छैन । महानगर प्रमुख दाहालले भरतपुर विमानस्थल विस्तार गर्ने कामलाई सकेसम्म छिटो बढाइने बताइन् । पश्चिम चितवन र नवलपरासी जोड्ने विभिन्न पुलहरू बनाउने योजना पनि अघि बढाउने गरी भरतपुर महानगरले नीति तथा कार्यक्रम बनाइरहेको छ ।

महानगरले यसपटक राजस्वको दायरा फराकिलो बनाउँदै भारीमात्रामा बढाउने नीति अवलम्बन गरेको छ । चालु आर्थिक वर्षमा आन्तरिक राजस्वको लक्ष्य रु. एक अर्ब २५ करोड थियो । यसलाई बढाएर आगामी वर्ष एक अर्ब ५० करोड पुर्याउने लक्ष्य राखिएको छ ।

भरतपुर महानगरले आफ्नो बजेटमा शिक्षालाई विशेष प्राथमिकता दिइएको छ । शिक्षालाई सीपसँग, सीपलाई उत्पादनसँग र उत्पादनलाई बजारसम्म जोड्ने महानगरको योजना छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *