प्राविधिक शिक्षामा कलेजको मनपरी शुल्क, विद्यार्थीसँग विवादपछि रकम फिर्ता

विराटनगर । विराटनगरको प्राविधिक कलेजहरूले विद्यार्थीबाट मनपरी रकम असुल्ने गरेको पाइएको छ। नर्सिङ, सिएमए, हेल्थ असिस्टेन्ट अध्ययन गराउँदै आएका कलेजहरूले सरकारले तोकेको भन्दा बढी रकम लिने गरेको फेला परेको हो ।

विराटनगरमा रहेको विराट हेल्थ कलेजले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सिटिईभिटी)ले तोकेको भन्दा बढी शुल्क लिएको पाइएको हो । तोकिएको भन्दा अतिरिक्त रकम विद्यार्थीबाट लिएको पाइएपछि विद्यार्थीले विद्यार्थी संगठन गुहारेका थिए । विद्यार्थीबाट लिएको रकम फिर्ता हुनु पर्ने अडान राख्दै अभिभावक र विद्यार्थीसहित प्रशासनसँग छलफल गर्दा १५ प्रतिशत अतिरिक्त शुल्क लिएको, सर्टिफिकेटको नाममा पनि रकम लिएको पाइएको अनेरास्ववियु मोरङ अध्यक्ष तुलसी घिमिरेले जानकारी दिए ।

‘सिटिईभिटीको निर्देशन अनुसार कोरोनाको समयमा भएको पढाइ अवधिमा दिनुपर्ने १५ प्रतिशत छुटको विषयमा विवाद भएको थियो’, उनले भने, ‘कलेजले विद्यार्थीलाई १५ प्रतिशत छुट वापत दिने भनेको १५ सय कटाएर थप ६ हजार क्यारेक्टर सर्टिफिकेटको नाममा लिएको पाइयो ।’ मनपरी रकम असुलेको पाइएपछि विद्यार्थीले क्याम्पस प्रशासनलाई बढी लिएको रकम फिर्ता गर्न दबाब दिएका थिए ।

कलेजले विद्यार्थीबाट ७ हजार ५ सय मागेको पाइएको छ । नर्सिङ कार्यक्रमकी विद्यार्थी अनिता बस्नेतले क्यारेक्टर सर्टिफिकेटको नाममा ६ हजार तिरेको प्रमाण पेश गरिन् । ‘हामीलाई ७ हजार ५ सय तिर्न भनिएको थियो’, उनले भनिन्, ‘त्यो १५ प्रतिशत अर्थात् १ हजार ५ सय छुट देखाएर ६ हजार तिरेको हो ।’ विद्यार्थीले पाउनुपर्ने छुट पनि नपाएको तथा क्यारेक्टर सर्टिफिकेटको नाममा पनि रकम तिर्नु परेको विद्यार्थीको गुनासो छ ।

क्याम्पसका लेखा प्रमुख रामेश्वर कामतले विद्यार्थीहरुबाट अतिरिक्त रकम लिएको स्वीकार गरेका छन् । विद्यार्थीले आन्दोलन गर्न थालेपछि लिएको रकम क्याम्पसले फिर्ता गर्ने सहमती गरेसँगै उनले अतिरिक्त रकम लिएको स्वीकार गरेको देखिन्छ । सहमति पत्रमा हस्ताक्षर गर्दै कामतले बिना शुल्क विद्यार्थीलाई क्यारेक्टर सर्टिफिकेट उपलब्ध गराउने, कोेरोनाको समय अवधिमा भएको अनलाइन क्लास बापतको १५ प्रतिशत छुट क्याम्पस प्रमुखसँग छलफल गरेर फिर्ता गर्ने पनि सहमति भएको छ ।

हालसम्म विद्यार्थीबाट लिएको अतिरिक्त शुल्क सबै फिर्ता गर्न क्याम्पसको तर्फबाट लेखा प्रमुख कामत, अभिभावकको तर्फबाट कमल रेग्मी र अनेरास्ववियुका तर्फबाट जिल्ला अध्यक्ष तुलसी घिमिरेले सहमति पत्रमा हस्ताक्षर गरेका छन् । क्याम्पसमा भएको सहमतिपछि १५ जना विद्यार्थीले निशुल्क क्यारेक्टर सर्टिफिकेट निकालेर लगेका छन् ।

सिटिइभिटीले २०७८ पुस १ गते एक सूचना जारी गर्दै कोभिड-१९ को कारण वैकल्पिक माध्यमबाट पठन पाठन भएको अवधिमा कम्तिमा १५ प्रतिशत प्रशिक्षण शुल्क छुट दिने निर्णय भएकोमा विभिन्न शिक्षण संस्थाले छुट नदिएको भन्दै तत्काल छुट कार्यान्वयन गर्न भनेको थियो ।

त्यो कार्यान्वयन नगरेको भन्दै त्यसमा पनि विद्यार्थीले छुट दिनु पर्ने माग राख्दै आएका थिए ।

No description available.

प्रतिक्रिया

One thought on “प्राविधिक शिक्षामा कलेजको मनपरी शुल्क, विद्यार्थीसँग विवादपछि रकम फिर्ता

  1. यो काम त इस्टर्न engineering collage ले पनि गर्छ
    एउटै bach ma फरक fee बिसय उठाउँ साथी हो

Leave a Reply

Your email address will not be published. Required fields are marked *