प्रदेश १ः प्रदेशसभामा अलमलिइन् सांसद गुरुङ

विराटनगर । प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७९ माथिको छलफल बुधबार पनि थियो ।

शुन्य समयमा उदयपुरकी प्रदेशसभा सदस्य अम्बिका थापा र सुनसरीकी प्रदेशसभा सदस्य ज्योती सुब्बाले बोल्ने क्रम सकिएपछि सभामुख सरस्वती पोखरेलले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वायन गर्न बनेको आर्थिक विधेयक २०७९ माथिको छलफल शुरू भएको जनाइन् । सभामुख पोखरेलले प्रदेशसभा नियमावली २०७४ को नियम १२५ को उपनियम ४ बमोजिम आर्थिक विधेयकमाथिको छलफलको कारबाही प्रारम्भ गर्दै प्रदेशसभा सदस्य पदमकुमारी गुरुङको नाम लिइन् ।

सभामुखको जनाउसँगै गुरुङ शुरूमा आफू नै बसेको ठाउँबाट नै बोल्न खोजिन् । सभामुखले उनलाई रोष्टममै आएर बोल्न भने । सभामुखको भनाइपछि उनी निकैबेर अलमल परिन् । उनी उठेर रोस्टमतर्फ गइन् तर उनी अलमलमा देखिन्थिन् । उनले रोस्टमतर्फ जाँदै गर्दा बाटोमा के बोल्नु भन्दै हातले इसारा गर्दै रोस्टमसम्म गइन् ।

रोस्टममा पुग्नसाथ प्रदेश सभा सदस्य गुरुङ त्यहाँ पनि अलमलमा परिन् । उनले हातमा आर्थिक विधेयक बोकेकी थिइनन् भने, त्यहाँ पुगेर सचिवको सहारा लिइन् । त्यहाँ पनि के बोल्ने भन्नेमा अन्योलमा परिन् । नजिकै रहेका मर्यादापालकले विधेयकको कपी ल्याएर उनले आफ्नो भनाइ अघि बढाउन थालिन् ।

अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वायन गर्न बनेको आर्थिक विधेयक २०७९ माथिको छलफलको विषयमा भाग लिने सांसदले विधेयकभित्र उल्लेख भएका विषयमा केन्द्रीय भएर बोल्नुपर्ने हुन्छ । उनले विधेयकको अध्ययन नै नगरी सभाको छलफलमा भाग लिएको प्रदेश सभाभित्रको उनको अफ्ठ्यारोपनले देखाउँथ्यो । सभामुखले उनलाई आर्थिक विधेयक माथिको छलफलमा भाग लिन ८ मिनेट दिएका थिए ।

आर्थिक विधेयक २०७९ माथिको छलफलको क्रममा के बोलिन प्रदेशसभा सदस्य गुरुङले ? 

‘सभामुख महोदय आर्थिक बर्ष २०७९-०८० को बजेटलाई कार्यान्वयन गर्नको निम्ति प्रदेश सरकार अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वायन गर्न बनेको विधेयकसम्बन्धी यो विधेयकमा उल्लेख भएका कुराहरूमाथि छलफल गर्ने विषयलाई मैले यो विधेयकको पाठहरू केही अध्ययन गरेर हेरेँ र यसमा हुन त मैले यसमा धेरै अध्ययन गरिनसकेको कारणले पनि मलाई अलिकति असहज भयो । त्यसले गर्दा यो विधेयकमा उल्लेख भएको चिज यो अर्थ सम्बन्धी साह्रै राम्रो भएको छ ।

र २०७९-०८० मा आएको बजेट विनियोजनमाथि मैले यो छलफलको क्रमलाई अध्ययन गरेर हेरेँ । र यसमा धेरैवटा कुराहरू समावेश भएको छ। र यो  विषयलाई मैले अर्थमन्त्री ज्यूले ल्याएको विधेयकलाई म समर्थन गर्न चाहन्छु । र वास्तवमा यो अर्थ सम्बन्धी बनेको प्रस्ताव कार्यान्वायन सँगसँगै संखुवासभा जिल्लाको केही कुराहरू राख्ने अनुमति चाहन्छु ।

विशेषगरी, संखुवासभाको थुप्रैवटा ठाउँहरूमा पर्यटन पूर्वाधारको सम्भाव्यता बोकेको जिल्ला भएको कारणले गर्दाखेरी पनि मैले केही कुराहरु राख्ने जमर्को गरेको छु । (सचिवतिर हेरेर) कस्तो गाह्रो… हँ, आज मैले यो अर्थ कार्यान्वयन सम्बन्धको विषयलाई त्यस्तो धेरै लामो कुराहरू गर्न चाहिनँ । यहाँ उल्लेख भएको कुराहरूलाई पूर्ण समर्थन गर्दै मैले मेरो कुरालाई यहीँ अन्त्य गर्छु । हवस् त नमस्ते ।’

प्रदेश सभा सदस्य गुरुङले छलफलमा भाग लिँदै गर्दा निकैपटक अफ्ठ्यारो मानेर कसैको सहयोग लिन खोजको जस्तो देखिन्थ्यो । बुधबारको बैठकमा प्रदेश सरकारको अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको आर्थिक विधेयक २०७९ माथिको छलफलमा अरू चारजना सांसदले पनि भाग लिएका छन् । उदयपुरका सांसद बिमल कार्की, ओखलढुंगाका मोहनकुमार खड्का, संखुवासभाकी सरिता थापा र मोरङकी साबित्रा रेग्मीले भाग लिएका थिए ।

छलफलमा भाग लिएका सांसदहरू मध्ये गुरुङ, थापा र रेग्मी नेकपा एकीकृतका प्रदेश सांसद हुन् भने कार्की एमाले र खड्का नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *