दुःसाध्य एनओसी : विद्यार्थी भन्छन्- एनओसी दिन किन यस्तो जात्रा ? (तस्बिरसहित)

काठमाडौँ । विवेक कुमार यादव केसर महलको गेट अघिको ठेलाठेल गरिरहेको लाइनमा उभिएका छन् । लाइनमा उनलाई पेल्ने र ठेल्नेहरूलाई प्रतिकार गर्ने शक्ति नै छैन विवेकमा । किनभने उनी बिहान ५ बजेदेखि एनओसी लिन लाइन लागिरहेका छन् ।

खाली पेट नै बसेका रहेछन् । हातमा एउटा पानीको बोतल भने समाएका छन् । ३ दिन अघि विवेकको फोनमा एउटा मेसेज आयो । विदेशमा अध्ययन गर्न जानको लागि प्रक्रियारत उनले एनओसीको लागि अनलाइन फाराम भरेका थिए । पैसा पनि अनलाइन नै तिरेका थिए । त्यही एनओसीको लेटर लिनको लागि उनको मेसेज बक्समा घण्टी बजेको रहेछ ।

विवेक भन्छन्, ‘मेसेज चेक गरेँ, भोलिपल्ट (असार ५) गते साँझ ४ बजे समय दिएर एनओसी लिन आउनु भन्ने मेसेज रहेछ । एकदिन अघि मेसेज आयो म नाइट बसमा काठमाडौँ आए । ४ बजेको समय दिएको थियो तर म २ बजे नै केसर महल पुगेँ । त्यहाँ म जस्ता हजार भन्दा बढी विद्यार्थी लाइनमा रहेछन् । गेटको गार्डले मलाई आज पालो आउँदैन भोलि बिहानै ५ बजे आउनु भनेर फर्काइदिए ।’

विवेक भोलिपल्ट अर्थात् असार ६ गते ६ बजे केसर महल पुगे । त्यहाँ उनी भन्दा अघि नै लाइनमा सयौँको संख्यामा युवाहरू उभिरहेका थिए । बेलुका ५ बज्न ५ मिनेट बाँकी हुँदा विवेकभन्दा अघि ७ जना बाँकी थिए । ती मध्ये एक जनाले मात्रै एनओसी लिन भ्याए । बाकी ६ जनाले लिन नपाउँदै कार्यालय बन्द भयो । ११ घण्टा लाइन बसेर पनि विवेकले एनओसी पाएनन् ।

असार ७ गते उनी तेस्रो दिन एनओसी लिन लामबद्ध भएका छन् । उनी बिहान ५ बजे नै केसर महल पुगेका थिए । दिउसो २ बज्दा उनको अघि ३ सय जति युवा जमातको लाइन थियो । उनीहरू सबैजना आज चाही पालो आउँछ भनेर प्रतीक्षा गरिरहेका थिए । विवेक पढ्नको लागि अस्ट्रेलिया जाँदै छन् । उनी जस्तै हजारौँ विद्यार्थीलाई अहिले यही सास्ती छ ।

एनओसी (नो अब्जेक्सन सर्टिफिकेट) को पत्र विदेशमा अध्ययन गर्न जाने विद्यार्थीहरूको लागि आवश्यक पर्छ । विश्वविद्यालयले अफर लेटर पठाएपछि एनओसी पत्र चाहिने विदेश अध्ययनको प्रक्रिया हो । अहिले लाखौँको संख्यामा विद्यार्थीहरू अध्ययन गर्न बाहिर जान्छन् । त्यसैले एनओसी लिने भिड बढेको हो । बाहिर जाने विद्यार्थी सङ्ख्या बर्सेनि बढ्दै गए पनि शिक्षा मन्त्रालयले एनओसी दिने कार्यको व्यवस्थापन बारे कुनै ठोस कदम चालेको देखिँदैन ।

हजारभन्दा बढीको संख्यामा लामबद्ध भएका विद्यार्थीलाई जम्मा तिन ओटा झ्यालबाट एनओसी दिइन्छ । बाहिरिने विद्यार्थीहरूमा पनि केटाको सङ्ख्या बढी भएकोले केटाहरूको २ वटा लाइन छ । केटीहरूको लाइन एउटा मात्र छ । अर्को एउटा लाइन एनओसीमा नाम थर ठेगाना गलत भए रुजु गर्नेहरू बसेका छन् ।

उनीहरूको लाइन पनि केसर महलको मुख्य गेटबाट बाहिर सम्म निस्किएको छ । त्यही लाइनमा बसेका रुपन्देहीबाट आएका धिरज गिरी आक्रोश पोख्छन्, ‘भोलि आऊ भनेर मेसेज पठाउँछ अनि तीन दिन भइसक्यो आज पालो आउँदैन । कती दुख दिन सक्या होला ? भोट हाल्ने कार्ड लिएको छैन भने मतदान केन्द्रमा नै नाम बोलाए बाँड्छ तर विद्यार्थीलाई एनओसी दिन यस्तो जात्रा किन गर्नुपर्‍यो ? यही भएर पनि यो देश जतिसक्दो छिटो छोड्न मन लाग्छ । यहाँ सिस्टम नै छैन । जनतालाई दुख दिने । देश संघीयतामा गएको छ । स्थानीय तह त्यो सम्भव नभए कम्तीमा प्रदेशबाट एनओसी दिए के हुन्छ । अनलाइन फाराम भर्न मिल्ने, पैसा तिर्न मिल्ने अनि विद्यार्थीलाई अनलाइन एनओसी पठाउन किन नमिल्ने ?’

झापाबाट आएका अनुज थापा पनि यही झन्झटले वाक्क छन् । उनी भन्छन्, ‘रोपाइँ टुङ्गो लागेको थियो । आमा बुबालाई सघाउनुपर्ने, यस्तो बर्खामा कतिखेर पहिरो खसेर बाटो बन्द हुन्छ थाहा हुँदैन यहाँ आएर ११ घण्टा लाइन बसी खाली हात फर्किनु परेको छ । सङ्घीयताको पुरस्कार पनि गज्जब छ ।’

काठमाडौँकै अनु थापाको भने २ बजे एनओसी हात प-यो । केटीको सङ्ख्या अलि कम भएकोले उनलाई सहज भयो । अनु भन्छिन्, ‘फेरी चिनेजानेको र पावर लाउनेलाई वैकल्पिक बाटो पनि छ । त्यही थाहा पाएर हिजो एउटा आन्टीले झगडा गर्नुभयो अनि अरूले पनि त्यही झगडाको कारण एनओसी लिनै पाएनन् । आज पाए मैले पनि । हिजो ५ घण्टा लाइन बसेपछि लफडा प-यो अनि खाली हात फर्किएकी थिए ।

एक दिनमा कती जनालाई दिने, एक जनालाई एनओसी दिन कती समय लाग्ने भन्नेबारे एनओसी दिने कार्यालयले कुनै व्यवस्था गरेको छैन । कती जनाले लिने र एक जना विद्यार्थीले एनओसी लिन कती समय लाग्ने त्यही काम गर्ने कर्मचारीमा भर पर्ने विद्यार्थी बताउँछन् । ‘यहाँ कोहीको पालो आउने बित्तिकै हुन्छ कोहीलाई भने १० मिनेट लाग्छ के तरिका हो यस्तो ।’ पर्वतबाट आएका सन्तोष रेग्मीले बताए ।

अहिले दैनिक कती जनालाई एनओसी दिइरहेको छ भन्नेबारे बोल्ने कार्यालयमा कोही भेटिँदैन । जो भेटिन्छ उनीहरूले शिक्षा मन्त्रालयमा सोध्नु हामीलाई थाहा छैन भन्ने जवाफ दिन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *