प्रदेश १ को नामकरणबारे के चाहन्छ ‘लिम्बूवान’ ?

विराटनगर । प्रदेश १ ले नामको विषय संघीयता कार्यान्वयनमा जाँदै गर्दा टुंगो लगाउनु पर्नेमा प्रदेश सभाको ५ वर्ष बित्नै लाग्दा पनि अझै प्रदेश १ ले नाम पाउन सकेको छैन । २०६२/०६३ को जनआन्दोलन पछि उदाएको लिम्बूवानले अहिले पनि प्रदेश १ लाई लिम्बूवान बनाउनुपर्ने मागलाई कायम राखेको छ ।

कुमार लिङ्देन मिराकको नेतृत्वमा रहेको संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले प्रदेश १ को नाम लिम्बूवान नभए नामलाई स्वीकार गरेर जानसक्ने अवस्था नभएको बताएका हुन् ।

किराँत नाम राखेर जाँदा पनि पहिचान नहुने उनीहरूको भनाई छ । संवाद समूह प्रदेश १ ले इटहरीमा आयोजना गरेको संवादको क्रममा लिम्बूवानका नेताहरूले इतिहास र पहिचान नभएको नामको आधारमा नामकरण गर्नुको औचित्य नभएको बताउँदै अहिले सरकारले नामकरण गर्ने भन्नेबारे हल्ला मात्र भएको बताए ।

नागरिकलाई झुक्क्याउन खोजिएका छ उनीहरू भन्छन्, तत्काल प्रदेश १ ले नाम पाउन सक्दैन । नामकरण गर्दा कुनै पनि ठाउँमा लिम्बूवानसँग जोडेर जानुपर्ने, लिम्बूवानलाई निषेध गरेर सरकार जान नसक्ने, तथ्य र प्रमाणका आधारमा नामले पहिचान दिनुपर्ने उनीहरूको भनाई छ । उनीहरूले सरकारले नाम राख्ने विषयलाई खेलाँची नगर्न पनि आग्रह गरेका छन् ।

‘लिम्बूवान भनेको भूगोल हो यो बहु पहिचान हो, किराँत धर्म हो बहु पहिचान हुनसक्दैन’, लिम्बूवानले भनेको छ, ‘किराँतलाई सबैले स्वीकार गरेर जान सक्दैनन् ।’ लिम्बूवान आन्दोलन, राजनीतिक, इतिहास, दस्ताबेज, भूगोल, संस्कार र संस्कृति तथा जनसंख्याको आधारमा लिम्बूवानले नामको कुरा उठाएको दाबी गरिएको छ ।

प्रदेश १ को नाम किराँत राख्दा त्यसले धर्मको आधारमा हुने भएकोले अहिलेको धर्म निरपेक्षताको विरोध हुने र हिन्दु राष्ट्रको माग राख्दै आन्दोलन हुनसक्ने उनीहरूको भनाई छ । नेकपा एमालेले सत्तापक्षीय दलहरूसँग प्रदेशको नामकरणको बारेमा छलफललाई तीव्रता दिएसँगै लिम्बूवानको धारणा दोहोरिएको हो ।

‘पहिचान लिम्बूवान हो’

लिम्बूवानका नेता कुमार लिङ्देन मिराकले धर्म, नदी, भूगोललाई पहिचान नचाहिएकोले पहिचान लिम्बूवान नै रहेकोले लिम्बूवान पहिचानको आधारको एक मात्र उत्तम नाम हुने उनको ठम्याई छ । एउटै देशभित्र प्रदेश २ ले मधेस प्रदेश पहिचानको आधारमा नाम राख्दा त्यो भन्दा पहिला पहिचानको आन्दोलन थालेको लिम्बूवानले प्रदेश १ को नाम लिम्बूवान नै हुनुपर्ने माग राखेको उनले बताए ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध नेताहरूसँगको संवादको क्रममा नेताहरूले कुनै पनि हालतमा प्रदेशको नामा लिम्बूवान भन्दा बाहिर गएर हुन नहुने बताएका छन् ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष समेत रहेका लिङ्देनले पहिचानको आन्दोलन भनेको कोसीमा खुट्टा हल्लाउने मात्र नभएको टिप्पणी गरे । ‘पहिचानको कुरा भनेको सामर्थ्यको आधारमा जाने हो’, उनले भने, ‘लिम्बूवान किराँत भनेर २२ वटा संस्थाको संघर्ष समिति बनाएर सरकारलाई ध्यानाकर्षण गराएका छौँ, सरकारको नेतृत्वले लिम्बूवानलाई बाइपास गरेर जान सक्ने अवस्था छैन ।’ संघीयता र पहिचानको आन्दोलन सुरु गर्ने काम नै लिम्बूवानले गरेको लिङ्देनको भनाई छ । ‘प्रशस्तै तथ्य र प्रमाणको साथ हामी लिम्बूवानको मुद्दा लिएर हिँडेका छौँ’, उनले भने, ‘हामीलाई बेवास्ता गरिन्छ भने हामी आन्दोलनको तयारीमा छौँ, जस्तोसुकै अवस्था आउन सक्छ ।’

पहिचानको दबाबले ढिला

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका महासचिव अशोक चेम्जोङले लिम्बूवान बेगरको नाम सरकारले राखेमा लिम्बूवान सरकारबाट बाहिरिने र गठबन्धनको औचित्य सकिने चेतावनी दिएका छन् । अहिलेको प्रदेशको अवस्था भनेको कुन दलले कस्तो नाम ल्याउँछ भन्नेमा कोही स्पष्ट नभएको बताएका छन् ।

अहिले प्रदेश १ को नामकरण हुन नसक्नु भनेको पहिचानवादीको चौतर्फी दबाबकै कारण भएको उनको भनाई छ । ‘सबै दलका नेता प्रदेशको नाम हुन्छ की हुँदैन भन्नेमै अन्यौलतामा छन्’, उनले भने, ‘नाम के हुन्छ भन्नेमा पनि उनीहरू स्पष्ट छैनन् ।’

प्रदेशको नाममा किराँतलाई फोकस गरेर गएको जस्तो देखिए पनि लिम्बूवान कमजोर नभएको र लिम्बूवानलाई दलहरूले स्वीकार गरेर जानु पर्ने बताए । ‘नजिकै चुनाव आइसकेको अवस्थामा आजको नामकरणले भोलिको मत निर्धारण गर्छ, यो अवस्थामा नाम टरेर जान सक्ने पनि देखिन्छ’, उनले भने, ‘सरकारले लिम्बूवानलाई स्वीकार गरेर जाँदैन भने सरकारमा गएको लिम्बू वान बाहिरिने छ, सरकार छाडेर सडक आन्दोलनमा होमिनेछ ।’

सशङ्कित लिम्बूवान

सरकारमा प्रतिनिधित्व गर्ने लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले सरकारले चाहेर पनि नाम ल्याउन नसकेको बताइन् । अरू दलहरूको संसदीय दलको बैठक बस्दा पनि स्पष्ट कुरा आएको नदेखिएको बताउँदै नामकरणको बारेमा स्पष्ट एउटै नाम नआएको बताइन् । ‘कसैले एकलौटी निर्णय गरेर जान सक्ने अवस्था छैन’, उनले भनिन्, ‘सबै तर्फबाट अहिले नामकरणको बारेमा दबाब आएको छ ।’ अहिले नामको बारेमा मुद्दा बोक्ने दलहरू नभएकोले नामको मुद्दा लिम्बूवानको मात्र भएको उनको दाबी छ ।

गठबन्धनको तर्फबाट स्वास्थ्य मन्त्रीलाई जिम्मेवारी दिएको भए पनि २ पटक जति मात्र छलफल भएको राज्यमन्त्री तुम्बाहाम्फेले सुनाइन् । अहिले दलहरू भित्र भएको आन्तरिक छलफललाई केही खेलो गर्न खोजेको रूपमा अर्थ्याएकी छिन् । ‘दलहरू भित्रको खेलोको बारेमा म सशंकित रहेको छु’, उनले भनिन्, ‘भित्रभित्रै खेलो भएको भन्ने आएको छ ।’ लिम्बूवानको तर्फबाट पछि हट्ने अवस्था नरहेकोले भाषा, लिपी, संस्कार र संस्कृतिको प्रमाणसहित अघि बढ्ने उनले बताइन ।

मञ्चका प्रान्तीय सचिव धनबहादुर पंधाकले अंकगणितको रूपमा हेर्ने लिम्बूवान नदेखिने भए पनि आन्दोलनको मुभमेन्ट र अंकगणित फरक रहेको बताए । ’राज्यले हिजो नै लिम्बूवान स्वीकार गरेको विषय हो’, उनले भने, ‘आज आएर अतिरञ्जित बनाउने काम कसैबाट पनि हुनु हुँदैन ।’

केन्द्रीय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर गुरुङले लिम्बूवानकै कारण प्रदेशको राजधानी विराटनगर बनेको, ७ वटा प्रदेश आएको भुल्न नहुने बताए । लिम्बूवान आन्दोलनले प्रदेश संरचना ल्याएको हो त्यसलाई आधार मान्दा पनि प्रदेश १ लाई लिम्बूवान मानेर जानुपर्ने उनको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *