विदेशमा रहने नेपालीले मतदान गर्न पाउनुपर्ने माग गर्दै कांग्रेस निर्वाचन आयोगमा

काठमाडौँ । नेपाली कांग्रेसले अब हुने निर्वाचनमा विदेशमा रहेका नेपालीहरूले पनि मतदान गर्न पाउने व्यवस्था गर्न माग गर्दै निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ ।
मंगलबार कांग्रेसका महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापाले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई विदेशमा रहेका नेपालीको मताधिकारबारे ध्यानाकर्षण गराएका हुन् ।
कांग्रेस महामन्त्री शर्माले हाल विदेशमा पनि ठूलो संख्यामा नेपालीहरू रहेको भन्दै उनीहरूलाई मतदानबाट वञ्चित गर्न नहुने बताए । यस विषयमा प्रधानमन्त्रीलाई पनि यसअघि नै ध्यानाकर्षण गराइसकेको भन्दै शर्माले सकारात्मक जवाफ आएको जिकिर गरे । विदेशमा लाखौँ नेपाली रहेको र उनीहरूले रेमिट्यान्सले मुलुकको अर्थतन्त्र चलेकाले मताधिकारबाट वञ्चित गर्न नहुने उनले बताए ।
त्यस्तै, कांग्रेसका अर्का महामन्त्री गगन थापाले मताधिकारका साथै काठमाडौँमा पनि मतदाता नामावली संकलनलाई व्यवस्थित गर्न ध्यानाकर्षण गराइएको जानकारी दिनुभयो । मतदानको अधिकार प्रयोग गर्ने सन्दर्भमा सुरुमै नामावली दर्ता गर्न समस्या भएको गुनासो आउनु उचित नभएको उनले बताए ।
थापाले तत्कालै काठमाडौँको मतदाता नामावली संकलनलाई व्यवस्थित गर्ने प्रतिबद्धता आयोगले जनाएको बताए ।








