साउनदेखि पेट्रोलियमको मूल्य पूर्ण स्वचालित प्रणालीमा

काठमाडौँ । पेट्रोलियममा अब स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा लागू हुने भएको छ । नेपाल आयल निगमले आउँदो साउनदेखि डिजेल र पेट्रोलमा पूर्ण रूपमा स्वचालित मूल्य प्रणाली लागू गर्ने भएको हो ।

सरकारको आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममासमेत स्वचालित मूल्य प्रणाली लागू गर्ने उल्लेख छ । सोहीअनुरूप स्वचालित मूल्य प्रणाली पूर्ण रूपमा कार्यान्वयन गर्न लागिएको हो । यसअघि २०७१ असोज २४ देखि पेट्रोलियममा स्वचालित मूल्य प्रणाली लागू गरिएपनि प्रभावकारी कार्यान्वयनमा आउन सकेको थिएन । स्वचालित मूल्य प्रणाली लागू हुँदा अन्तर्राष्ट्रिय बजार मा मूल्य बढ्दा बढ्ने र घट्दा घट्ने हुन्छ ।

पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्था सहज गर्न मूल्य बढाउनुपर्ने सरकारको बाध्यता रहेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा. गणेशप्रसाद पाण्डेयले बताए । ‘इन्डियन आयल कर्पोरेसनले अब पैसा नतिरी तेल दिदैनौं भने । अर्थ मन्त्रालयले पनि इन्धनको सबै घाटा नबेहोर्ने भन्यो,’ पाण्डेयले भने, ‘त्यही भएर हामी मूल्य बढाउन बाध्य भएका हौं ।’

पछिल्लो समय नेपाल आयल निगमले भारतीय आयल कर्पोरेसन (आइओसी) लाई २२ अर्ब रूपैयाँ बुझाउन बाँकी रहेको उनले जानकारी दिए । आइओसीले असार २ गते पठाएको मूल्यका आधारमा निगमले आइतबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल लिटरमा २१ रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा २७ रूपैयाँ बढाएको थियो । एकै पटक यति धेरै मूल्य बढाउँदा आफूहरूलाई पनि असहज भएको सचिव पाण्डेय बताउँछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *