गठबन्धनले चुनावमा सत्ताको चरम दुरुपयोग गर्‍यो : कास्की एमाले

पोखरा । नेकपा एमाले कास्कीले स्थानीय तहको निर्वाचनमा गठबन्धनले सत्ताको चरम दुरुपयोग गरेको आरोप लगाएको छ ।

निर्वाचन सकिएको १ महिनापछि बसेको बैठकले चुनावका बेला ५ दलीय गठबन्धनले सत्ताको दुरुपयोग गरेर  राजनीतिकरण गरेको आरोप लगाएको छ । ‘निर्वाचनको बेला परमादेशबाट जन्मेको ५ दलीय गठबन्धनको सरकारले सत्ताको चरम दुरुपयोग गरी अनेकखालका टिकडमहरू अपनाएको कुरा जगजाहेर नै छ । त्यति मात्र नभएर अहिलेको समयमा पनि कर्मचारी क्षेत्रमा व्यापक राजनीतिकरण गरिएको छ,’ बैठकको निर्णयमा भनिएको छ, ‘राज्यका संयन्त्रहरू नेकपा (एमाले०को विरुद्धमा प्रयोग गर्ने दुश्साहस गरिराखेको छ । हामी यस्ता खालका अमर्यादित क्रियाकलापको घोर भत्सर्ना गर्दै चुस्त दुरुस्त शान्ती व्यवस्थापन र लोकतान्त्रिक शासन व्यवस्थाको मर्म अनुसारको सु–व्यवस्था कायम गर्न राज्यका हरेक निकायहरूसँग जोडदार माग गर्दछौं ।’

एमालेले अहिले बढिरहेको मुल्यवृद्धीबारे सरकारको ध्यानाकर्षण गराएको छ । ‘दिनमा दिन दुईगुणा, रात चार गुणाका हिसाबले हरेक उपभोग्य वस्तुमा मूल्यवृद्धि भएको छ । जनताको दैनिक जिवन कष्टकर भईरहेको छ,’ बैठकपछि प्रेस विज्ञप्ती जारी गरि एमालेले भनेको छ, ‘यस्तो बेला अर्थमन्त्री मध्यरातमा बिचौलियाहरूलाई बोलाएर करको दररेट हेरफेर गर्दै रातारात अरवौं रुपैंयाको अपचलन गर्दै गरेको घटनाले राज्यको शिर निहुरिएको छ । मूल्यवृद्धि नियन्त्रण गरी जनतालाई राहत पुग्ने कार्यक्रमहरू तत्काल ल्याउन सरकारसँग जोडदार माग गर्दछौं ।’

यस्तै, किसानलाई रासायनिक मल सहज रुपमा उपलब्ध गराउन र वर्षातको समयमा जिल्लाका विभिन्न ठाउँमा सडक र पुलहरू बाढी पहिरोले क्षति पुर्‍याएका कारण आवागमनमा असर परेको भन्दै तत्काल मर्मतका लागि माग गरेको छ । उच्च जोखिममा रहेका वस्ती, क्षेत्रहरूको जोखिम न्यूनिकरण गर्न र ब्यवस्थापन मिलाउन आग्रह गरेको छ ।

कास्की एमालेले स्थानीय निर्वाचनपछि संघ र प्रदेश सरकारले बजेट ल्याएको र त्यसमा क्रमागत योजना कटौती गरेको भन्दै आपत्ति जनाएको अध्यक्ष मनबहादुर गुरुङले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *