युएईका राजपरिवार सदस्यलाई भिआइपी सुविधा, अनुमति नलिइएका कार्यक्रममा रोक

विराटनगर । मेडिकल व्यवसायी तथा एमाले केन्द्रीय सदस्य दुर्गा प्रसाईँले आफ्नै पहल र निमन्त्रणामा युएईका राजपरिवारका सदस्य शेख मोहम्पद माक्तुम जुपा ला माक्तुम पूर्वाञ्चल क्यान्सर अस्पतालमा बोलाए । उनले हस्पिटलको क्यान्सर उपकरण उद्घाटन पनि गराए । त्यो बिचमा ती राजकुमारले के-के गरे भन्ने चौतर्फी प्रश्न उब्जिएको छ ।

प्रसाईँले युएईका राजपरिवारका सदस्यलाई बिर्तामोडमा रहेको पूर्वाञ्चल क्यान्सर अस्पतालको एउटा विभागको उद्घाटन गराएका थिए । प्रसाईँको अस्पतालको निजी कामको सिलसिलामा आएका उनलाई सरकारले भने भिआइपी सुविधा दिएको छ ।

झापा पुग्दा उनलाई भिआइपीकै रूपमा सुविधा दिएको सुरक्षा निकायले स्वीकार गरेको छ । मेडिकल व्यवसायी प्रसाईँको निमन्त्रणामा आएका उनी झापामा रहेको समयमा उनलाई राज्यको तर्फबाट दिइनुपर्ने भिआइपीको सुविधा दिइएको थियो । सरकारी तवरबाट आयोजना गरिएको कार्यक्रम नभएपनि राजपरिवारको सदस्य रहेकोले उनलाई दिइनुपर्ने सुरक्षा लगायतको सुविधा दिइएको थियो ।

युएईको राजपरिवारको सदस्य राजकुमार शेख मोहम्मद निजी तवरबाट आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आएको सुरक्षा निकायले बताएको छ । संयुक्त राज्य ईमिरेट्सको दूतावासले परराष्ट्र मन्त्रालयलाई अनुरोध गरेर उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भिआइपी रुमको समेत प्रयोग गरेका थिए ।

शेख मोहम्मद भिआइपी हो भन्ने कुरामा शङ्का गर्ने ठाउँ नभएको झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बताए । ‘उहाँ भिआइपी भएको कारण उहाँलाई सुरक्षा गर्नु पर्ने हुन्छ, प्रजिअ रिजालले भने, विदेशी मित्रराष्ट्रको राजपरिवारको सदस्य भएको नाताले सुरक्षा नदिने कुरा हुँदैन सुरक्षा दिनु पर्छ, दिइएको छ।’

उनी बिर्तामोडमा पुगेपछि पूर्वाञ्चल क्यान्सर अस्पतालको क्यान्सर उपचार उपकरण चेष्टस्क्यान क्यान्सर उपचार पद्धतिको उद्घाटन गरेका थिए । उनले बिर्तामोडमा नै रहेको एक मस्जिदमा गएर नमाज पाठ गरेको सुरक्षा निकाय बताउँछ । कार्यक्रम धेरै प्रस्ताव गरिएको भएपनि उनी यी दुई कार्यक्रम बाहेक कुनैपनि कार्यक्रममा सहभागी नभएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

स्वीकृति नलिई धेरै कार्यक्रम प्रस्ताव गरिएको थियो, प्रजिअ रिजालले मकालुखबरसँग भने, मुस्लिम विश्वविद्यालयको शिलान्यास, मस्जिदमा गएर पाठ गर्ने, मुस्लिम समुदायसँग अन्तरक्रिया गर्ने, एउटा मदरसाको उद्घाटन गर्ने लगायतका धेरै कार्यक्रम रहेको भएपनि अरू कुनै पनि कार्यक्रममा सहभागी गराइएन ।

सामाजिक सामुदायिक कामहरू उनले गर्नु उपयुक्त नहुन देखियो, त्यो हैसियत पाउनको लागि कुटनीतिक हैसियतबाट आउनु पर्थ्यो, कुनैपनि कुरा पालना नभएको हुनाले अरू कार्यक्रमहरू उनले स्थगित गरे फर्किएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

उनको भ्रमण नेपाल सरकारले स्वीकृत गरेको भ्रमण कार्यक्रम नभएको पनि सरकारी अधिकारीहरूले बताएका छन् । कूटनीतिक प्रोटोकल पुरा गरेर आउनु पर्नेमा शेख मोहम्मद निजी रूपमा आएकोले सार्वजनिक कार्यक्रम गर्न नमिल्ने रिजालले बताए । ‘नेपाल भित्र आएर विदेशी नागरिकले के गर्ने के नगर्ने भन्ने हाम्रो कुरा हो नि, उनले भने, दुईवटा निजी कार्यक्रम बाहेकका कुनै पनि कार्यक्रममा सहभागी हुन पाउनु भए, अरू कार्यक्रमहरू स्थगित गर्नु भएको छ ।’

शेख मोहम्मद झापाबाट आजै ११ बजे पोखरा फर्किएका छन् । राजकुमारले मेडिकल व्यवसायी प्रसाईँलाई सुनको लौरो उपहार दिएका हल्ला चलाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *