रोक्का आतंक भयो, प्रदेश सरकार मूकदर्शक भएर बस्न मिल्दैन : कोइराला

विराटनगर । नेपाली कांग्रेस संसदीय दलका नेता राजित कोइरालाले सबै मिले प्रदेश १ को गठबन्धनको सरकारले ल्याएको बजेट श्रोतले नधान्ने खालको भएको बताएका छन् ।

प्रदेश सभाको आइतबारको बैठकमा नेपाली कांग्रेस संसदीय दलको तर्फबाट विशेष समय लिएर बोल्दै कोइरालाले गठबन्धन सरकारले ल्याएको ३९ अर्बको बजेट स्राेत संकलन हुनेमा आशंका रहेको बताएका हुन् ।

उनले ठुला खालका योजनाहरू सुनसरी, मोरङमा सुरु नभएको पनि उनले बताए । नदी तटबन्ध, धरान, विराटनगर, इनरुवा–दुहबी सडक लगायत विमानस्थलका विषयहरूलाई मात्र भए पनि समेटेर महत्त्वपूर्ण योजनाको रूपमा लिएर नगएको उनले बताए । बजेट र योजनाको लागि ठाउँ हुँदा हुँदै पनि सरकारले सुनसरी मोरङलाई बजेटले उपेक्षा गरेको बताए । ‘सुनसरी मोरङका नागरिकका गुनासा छन्’, उनले भने, ‘कुनै महत्त्वपूर्ण आयोजना हाल्नु पर्नेमा त्यो परेको देखिएन ।’

आफूले भन्दै आएको दुहबी–इनरुवा सडकलाई पनि प्राथमिकतामा नपारेको गुनासो गरे । ‘विराटचोक–घिनाघाट सडक जस्तै बुहुवर्षीय गौरवको आयोजनाको रूपमा दुहबी–इनरुवा सडकलाई सरकारले लगानी गर्न सक्थ्यो’, उनले भने, ‘मोरङ सुनसरीमा ठुला आयोजना नपारिएकोमा नागरिकका गुनासा छन् ।’

रोक्का आतंक

विशेष समय लिएर बोलेका नेपाली कांग्रेस संसदीय तलका नेता कोइरालाले धितो राखेर बैँकमा लोन लिन रोक्का राख्दा विद्यार्थीहरू प्रभावित भएको बताए । त्यस्तै विराटनगर विमानस्थलमा लामो समयदेखि जग्गा रोक्का राखिएकोले संघीय सरकारको ध्यानाकर्षण गराउन प्रदेश सरकारलाई आग्रह गरे । संघीय सरकारको ध्यानाकर्षण गराउनु पर्छ’, उनले भने, ‘प्रदेश सरकारले ध्यान दिनु पर्छ मूकदर्शक भएर बस्नु हुँदैन ।’

रोक्काको सिलसिला पूर्व पश्चिम रेलमार्ग काँकडभिट्टा देखि इनरुवासम्म पनि रहेको उनले बताए । यो क्षेत्रका नागरिकको २ वर्ष देखिको जग्गा रोक्का राख्दा जग्गाको किनबेच र अंशबण्डा कुनै पनि कारोबार हुन नसकेको उनले सदनलाई जानकारी गराए । ‘झापा, मोरङ र सुनसरीका ५ हजार परिवार प्रभावित भएका छन्’, उनले भने, ‘यो रेलमार्गमा पर्ने १८ पालिकाका ५ हजार १२ दशमलव ६९ हेक्टर खेतीयोग्य जमिन पर्छ ।’

५३ दशमलव ६१ हेटर जल, ३३ हेक्टर बस्ती क्षेत्र र १९ हेक्टर बन क्षेत्र पर्ने गरी यो रेल मार्ग १०६ दशमलव ५९ किमी लामो हुने भनिएको छ। ४ हजार बन्दा बढी भौतिक संरचनामा क्षति हुने भनिएकोले अहिले यो क्षेत्रका बासिन्दा समस्यामा रहेको उनले बताए । ‘अहिले यी क्षेत्रको सबै जग्गा रोक्का राखिएको छ’, कोइरालाले भने, ‘रोक्का राखिएको जग्गाका कारण ३ जिल्लाकै नागरिक प्रभावित भएका छन् ।’ सरकारले ५ हजार ४ सय कित्ता जग्गा रोक्का राखिएकोले प्रभावितको समस्याको सम्बोधन कतैबाट नभएकोले तत्काल समस्या समाधानमा सरकारले ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

15 + fourteen =