बिपी आसपासका पसलमा औषधीको दररेटमा एकरूपता ल्याइने

धरान । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आसपासका औषधी पसलले मनपरी मूल्य लिएको भन्दै गुनासो आउन थालेपछि निगरानी बढाइने भएको छ । औषधी व्यवसायीहरूले प्रतिष्ठानमा ईम्प्लान्ट (प्रत्यारोपण) गर्न आएका बिरामीहरूसँग मनपरी रूपमा शुल्क लिएको गुनासोका आधारमा निगरानी बढाउन लागिएको धरान उपमहानगरपालिकाले जनाएको छ ।

धरान वडा १८ का वडाध्यक्ष नरेन्द्र कुमार राई (प्रविन)को अध्यक्षतामा औषधी व्यवसायीहरूसँग बसेको छलफलले ईम्प्लान्टको दररेट एकरूपता बनाउने निर्णय गरेको छ । बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अर्थोमा उपचार गर्न आएका बिरामीहरूले गुनासो गरेपछि वडा कार्यालयले यस विषयमा निगरानी बढाएको वडाध्यक्ष राईले बताए । धरानमा ईम्प्लान्ट सम्बन्धी काम गर्ने ४ वटा औषधी व्यवसायी छन् ।

सुजिता फार्मेसी, सृष्टि फर्मलिन्क, बज्रंग ट्रेड लिंक र अर्थो वर्ड सर्जिकलले ईम्प्लान्ट (प्रत्यारोपण)गर्दा लाग्ने सामग्रीहरूको बिक्री वितरण गर्छन् । नेपाल औषधी व्यवसायी संघ धरानका अध्यक्ष मचेन लिम्बुको संयोजकत्वमा एक अनुगमन समिति समेत गठन गरिएको वडाध्यक्ष राईले बताए । औषधीहरूको दररेट उपभोक्ताहरूले देखिनेगरी राख्न लगाउन पनि आह्वान गरिने वडाध्यक्ष राईले बताए ।

वडाध्यक्ष राईका अनुसार ल्याब सञ्चालकहरूसँग छलफल गरिने छ भने सोमबार सम्पूर्ण औषधी व्यवसायीहरूसँग छलफल गरिने उनले बताए । बिपीको गेट अगाडी रहेको टेम्पो व्यवसायीहरू र घर मालिकहरूसँग छलफल गरी टेम्पो व्यवस्थापन गरिने जनाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *