‘गुरू’माथि परिचर्चापछिकाे निष्कर्ष- उपन्यासमा मानिसहरूकाे साझा मनाेविज्ञान भेटिन्छ

इटहरी । साहित्यकार कविता राईकाे उपन्यास ‘गुरू’ २०७८ चैत्र २३ गते काठमाडाैँकाे प्रज्ञा प्रतिष्ठानमा सार्वजनिक भयाे । त्यसयता गुरूले राम्रै पाठक पाएकाे छ । कवितालाई धेरै पाठकहरूले सकारात्मक प्रतिक्रिया दिँदै आएका छन् । ‘धेरै पाठकहरूले उपन्यासमा आफैँलाई पाएँ भन्नुभएकाे छ,’ कविताले भनिन्, ‘त्याेभन्दा ठूलाे एउटा लेखककाे लागि के नै हुन्छ र ?’

हुन त साहित्यकारहरू हरिप्रसाद सिलवाल,  नारद हाताम्छाली राईसँगै राष्ट्रिय सभा सदस्य जयन्ती राई, प्राज्ञ शशी लुमुम्बुलगायतले सार्वजनिक हुँदैगर्दा नै पनि प्रशंसामा शब्दहरू खर्चिएका थिए । ती शब्दहरूअनुसारकै पाठकहरूले गुरूलाई रुचाइदिएकाे भनाइ कविताकाे छ, भन्छिन्— ‘उहाँहरूले धेरै माया गर्नुभएकाे छ । मन पराइदिनुभएकाे छ । कतिपयले सबै पक्षकाे दस्ताबेज भन्नुभएकाे छ भने कतिपयले इतिहासकाे सङग्रह भन्नुभएकाे छ । खुसी लागेकाे छ ।’

♦ याे पनि:
   ‘गुरू’ उपन्यास सार्वजनिक, कविता भन्छिन्- ‘लेख्दालेख्दै हाँस्नै बिर्सेछु’

‘गुरू- मानिसहरूकाे साझा मनाेविज्ञान’

शनिवार इटहरीमा ‘गुरू परिचर्चा’ कार्यक्रम सम्पन्न भयाे । कार्यक्रममा वक्ताहरूले गुरूकाे सफलताबारे एउटै निष्कर्ष निकाले; मानिसहरूकाे साझा मनाेविज्ञान बाेकेकाे उपन्यास । शब्द प्रवाह, इटहरीले आयाेजना गरेकाे कार्यक्रममा गुरूमाथि बाेल्दै लेखक तथा विश्लेषक प्रकाश राईले भनेका छन्, ‘साझा मानिसहरूको मनोविज्ञानका रूपमा यो उपन्यास आएको पाइन्छ । यसले मार्मिक सन्देश प्रवाह गरेको छ नेपाली समाजमा ।’

अर्का वक्ता कवि शुभलक्ष्मी लम्साल प्रकाश राईसँग सहमत हुँदै थप्छिन्, ‘आफ्ना विद्यार्थीसँग रमेरै उपन्यास तयार पार्नुले लेखक सफल भएको सुस्पष्ट हुन्छ । मान्छे बाहिरजस्तो हुन्छ, भित्र त्यस्तो हुँदैन । शिक्षकहरू बाहिर जलेर पनि भित्रभित्रै पढाइरहेका छन् ।’ उनले कविताकाे पहिलाे उपन्यास नै खारिएर निस्किएको बताइन् ।

कवि टीका आत्रेय गुरूभित्र पाठकहरूले आफ्नै कथा पाउने बताइन् । गुरूमा आफ्नै कथाहरू भेटिने उल्लेख गर्दै उनले भनिन्, ‘लेखकीय पाटाे काव्यिक भएकाे र एउटा कविले लेखेको उपन्यास भएकाेले यहाँ धेरै कुरा भेट्न सकिन्छ । एउटा कविले लेखेकाे उपन्यास काव्यिक शैलीमा हुन्छ र मिठास हुन्छ भन्ने कुराकाे पुष्टि याे उपन्यासले गरेकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.