एउटै शैक्षिक कन्सल्टेन्सीको सेयर २ जनालाई बेचेर साढे ३ करोड ठगी

काठमाडौँ । भक्तपुरको चाँगुनारायण नगरपालिका-८ का ७२ वर्षीय केशवप्रसाद अधिकारीले काठमाडौँको एक शैक्षिक कन्सल्टेन्सीका सेयरधनीलाई ३ करोड ५० लाख रुपैयाँ ठगेको पाइएको छ ।
पूर्वसञ्चालक अधिकारीले काठमाडौँ महानगरपालिका-३२ स्थित अर्बिट इन्टरनेसनलका सेयरधनी तारकेश्वर गाउँपालिका-१, नुवाकोटका श्रीबहादुर तामाङलाई थाहै नदिई तीन करोड ५० लाख रुपैयाँ ठगी गरेका हुन् । आफू ठगिएको भन्दै व्यवसायी तामाङको उजुरीपछि अधिकारीलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ ।
व्यवसायी तामाङबाट ३ करोड ५० लाख लिएर अधिकारीले सोही शैक्षिक कन्सल्टेन्सीको सेयर शैक्षिक परामर्श संघ (इक्यान)का अध्यक्ष प्रकाश पाण्डेलाई समेत बेचेको खुलेको प्रहरीले बताएको हो । सेयर स्वामित्व हस्तान्तरण गर्ने भनी रकम लिएर तामाङलाई मन्जुरीनामा दिइसकेका अवस्थामा पटक पटक ताकेता गर्दा पनि सेयर स्वामित्व हस्तान्तरण नगरी पाण्डेलाई बेचेको पाइएको हो ।
उक्त कम्पनीको सेयर किनेका पाण्डे भने कन्सल्टेन्सीको उक्त सेयर यसअघि बिक्री भइसकेको बारे आफूलाई जानकारी नभएको दाबी गर्छन् । हाल अधिकारी प्रहरी नियन्त्रणमा छन् । उनलाई प्रहरी परिसर टेकुमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यद्यपि उनी बिरामी परेको भन्दै वीर अस्पतालमा उपचार गराइरहेका छन् ।
उनलाई बिहीबार थप अनुसन्धानका लागि काठमाडौँ जिल्ला प्रशासनबाट दुई दिन म्याद समेत थपिएको छ । यसअघि पटकपटक विभिन्न मुद्दामा पक्राउ परेर पनि छुट्दै आएका अधिकारी यस पटक पनि आफूलाई ठगेर उम्किन्छन् कि भन्ने आशंका रहेको व्यवसायी तामाङ बताउँछन् ।








