एसीसी महिला टी-२० च्याम्पियनसिपमा भुटानलाई ५० रनले उछिन्दै नेपालको विजयी सुरुवात

काठमाडौँ । एसीसी महिला टी-२० च्याम्पियनसिपमा नेपालले भुटानलाई हराउँदै विजयी सुरुवात गरेको छ ।

मलेसियामा भएको सो खेलमा नेपालले भुटानलाई ५० रनले हराएको छ । जितका लागि ९५ रनको लक्ष्य पछ्याएको भुटान १७.५ ओभरमा ४४ रनमा अलआउट भएको हो । नेपालका बलरसामू निरीह भएका भुटानका एक ब्याटरबाहेक कसैले पनि दोहोरो अंकमा रन बनाउन सकेनन् । भुटानकी छिरिङ्ग जाङ्मोले मात्र १६ रन बनाइन् ।

ओपनिङमा आएकी एसहे छोदेनलाई दोस्रो ओभरमै नेपालकी कविता कुँवरले बोल्ड आउट गराएपछि भुटानको विकेट ओरालो लाग्न थालेको थियो । खेलका क्रममा नेपालकी संगीता राईले ४ विकेट लिँदै अल आउट गरिन् । २.५ ओभर बलिङ गरेकी उनले मात्र ६ रन दिएर ४ विकेट लिएकी हुन् ।

यस्तै, सीता राना मगर र कविता कुँवरले समान २-२ तथा अस्मिना कर्मचार्यले र इन्दु बर्माले समान १-१ विकेट लिए ।

यसअघि  टस जितेर पहिला ब्याटिङ गरेको नेपालले २० ओभरमा ९४ रन बनाएको थियो । नेपालका ओपनर र पुछारका ब्याटरले गतिलो प्रदर्शन नगरे पनि मध्य क्रमका ब्याटरहरूले दोहोरो अंकमा रन बनाउँदा नेपालले भुटानलाई सम्मानजनक लक्ष्य दिएको थियो । नेपालका लागि पाँचौं क्रममा आएकी काजल श्रेष्ठले सर्वाधिक २६ रन बनाइन् । चौथो क्रमकी ब्याटर ईन्दु बर्माले २० रन र छैटौं क्रममा आएकी कप्तान रुविना क्षेत्रीले २१ रन बनाइन् ।

सबैभन्दा धेरै भुटानका लागि सोनम पाल्दोनले ४ विकेट लिइन् भने अञ्जु गुरुङ र तासी चेकीले समान १-१ विकेट लिएका हुन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *