मनसुनसँगै गण्डकीमा उच्च सुरक्षा सतर्कता, उद्धार तथा प्राथमिक उपचारबारे अनुशिक्षण

पोखरा । गण्डकी प्रदेश मनसुनजन्य विपद्को अति संवेदनशिल क्षेत्रमा पर्छ ।

अघिल्लो वर्ष मनाङ, मुस्ताङ, म्याग्दी, बागलुङ लगायत जिल्लामा ठूलो क्षति भयो । अहिले पनि मनसुनको सुरुमै तनहुँ र गोरखामा बाढी पहिरोबाट दिनहुँ क्षति भइरहेको छ । मनसुनजन्य विपद्का घटनामा उद्दार कार्यलाई प्रभावकारी बनाउन सुरक्षा निकाय उच्च सतर्कतामा रहेको प्रदेश प्रहरी निमित्त प्रमुख कृष्णहरी शर्माले बताए ।
उनका अनुसार तीनवटै सुरक्षा निकायलाई आवश्यक तालिम दिइएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी गण मुख्यालय पोखरा र गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङका प्रहरी अधिकृतहरूलाई खोंचमा खसेको घाइतेको उद्दार तथा उद्दारपश्चात् प्राथमिक उपचारसम्बन्धी संयुक्त अनुशिक्षण तालिम दिइएको हो । शर्माले विपद जुनसुकै समयमा पनि आईपर्नसक्ने भएकाले यसको सामना गरी उचित व्यवस्थापनको लागि आवश्यक श्रोत साधन तयारी अवस्थामा राख्न निर्देशन दिए ।

उनले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी नाममा फरक भएपनि विपद्को अवस्थामा सबैको उद्देश्य एउटै भएकोले आफू सुरक्षित भएर घाइतेको उद्धार गर्ने काममा समन्वय गर्नुपर्ने बताए । ‘हाम्रो नाम मात्रै फरक हो । काम उही हो,’ उनले भने, ‘जोखिमयुक्त ठाउँमा जाँदा आवश्यक समन्वय गर्नुपर्छ । हामी एकै हौँ भन्ने धारणा बनाउनुपर्छ ।’

तालिममा सशस्त्र प्रहरी गण मुख्य कार्यालय पोखरा र विपद् व्यवस्थापन गुल्म बाग्लुङमा गरी नेपाली सेनाका १० जना, नेपाल प्रहरीका ४० जना र सशस्त्र प्रहरी बलका १० जना गरी ६० जना सहभागी थिए । ३ दिनसम्म चल्ने तालिमको अन्तिम दिन खोंचबाट घाइतेको उद्धार गर्ने र प्राथमिक उपचारबाट नमुना अभ्यास गरिनेछ ।

हाल मनसुनका कारण हिमाली जिल्लामा बढी क्षति भइरहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *