रत्ननगर क्याम्पसको जग्गा ‘भूमाफिया’को कब्जामा गएको आरोप

चितवन । चितवन रत्ननगर ३ स्थित शहीद स्मृति क्याम्पसले आफ्नो जग्गा ‘भूमाफिया’को कब्जामा गएको आरोप लगाएको छ ।

क्याम्पसले आज पत्रकार सम्मेलनको आयोजना गरी भोगचलन गर्दै आएको ३ कठ्ठा १५ धुर जग्गा ‘भूमाफिया’को कब्जामा गएको आरोप लगाएको हो । क्याम्पसको जग्गा ४ बिघा ३ कठ्ठा १५ धुर रहेको जग्गामध्ये दानस्वरुप आएको ४० वर्षदेखि भोगचलन भइरहेको ३ कठ्ठा १५ धुर जग्गा नै भूमाफियाको कब्जामा गएको पत्रकार सम्मेलनमा बताइएको छ ।

जग्गा संरक्षण र विवाद समाधानको लागि बनाइएको समितिका संयोजक शेषनाथ अधिकारीले क्याम्पसको जग्गा २०७३ सालमा नै दान दिने व्यक्तिले नै अरूलाई बिक्री गरेको बताए । उनले भने, ‘क्याम्पसले भोगचलन गरेको दानस्वरुप आएको जग्गा थाहै नदिई विक्री भएको पाइयो, एकैचोटी भूमाफिया जग्गा हड्प्न आएपछि बल्ल थाहा भयो ।’

संयोजक अधिकारीले २०३७ सालदेखि क्याम्पसले भोगचलन गर्दै आएको जग्गा नै भूमाफियाको कव्जामा गएको बताए । उनले २०३७ सालमा दुर्गादेवी श्रेष्ठबाट दानको रुपमा पाएको जग्गा नै उनै श्रेष्ठबाट बेचिएको बताए । उनले भने, ‘४० वर्षअघि जसले क्याम्पसलाई जग्गा दान दिएको थियो, उनै (दुर्गादेवी श्रेष्ठ)ले क्याम्पसको जग्गा २०७३ सालमा बेचिन्, कलेजलाई थाहा नै भएन ।’ उनका अनुसार विक्री भएको कलेजको जग्गाको पुर्जासमेत जग्गा व्यवसायीले निकालेका छन् । श्रेष्ठले दानको रूपमा दिने लिखित सहमति भएको र कलेजको नाममा नआएको जग्गा नै बेचिएको हो ।

पत्रकार सम्मेलनमा क्याम्पसका प्रधानाध्यापक धर्मदत्त तिवारीले जिल्ला अदालतले समेत पर्याप्त बहस नगरी भूमाफियाको पक्षमा फैसला गरेको बताए । उनले भने, ‘जिल्ला अदालतले भूमाफियाकै पक्षमा फैसला गरेको छ, हामी पुनरावेदन अदालत हेटौँडा गएका छौँ, मुद्दा अहिले विचराधीन रहेको छ ।’

‘चिरभोगको आधारमा पनि कानुनीरुपमा स्वतः क्याम्पसको ठहरिने उक्त जग्गा भोलानाथ नेपालकी पत्नी अर्पना नेपाल र कमलचन्द्रकी पत्नी सुमित्रा खनालले २०७३ सालमा संयुक्त रूपमा जग्गाको अवस्थिति हेर्दै नहेरी वा क्याम्पसको हक भोगको भए पनि कब्जा गर्न सकिन्छ भनी गलत मनसाय लिई खरिद गरेको पाइयो’ उनले पत्रकार सम्मेलनमा भने । क्याम्पसका सञ्चालक समितिका उपाध्यक्ष ईश्वरी अर्यालले क्याम्पसको जग्गा कलेजलाई नै फिर्ता गरिनुपर्ने बताए ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष रामबाबु घिमिरेले कब्जा गर्ने नियतका साथ क्याम्पसको जग्गा सस्तोमा खरिद गरेको देखिन्छ । उनले भने, ‘दान दिएको जग्गा अहिले आएर बेचिएको छ, क्याम्पसले तारबार गरेको जग्गा ४०-५० जनाको समूह आएर भत्काउन खोजिएको छ, बिक्री भएको कुनै जानकारी छैन, नितान्त यो क्याम्पसको जग्गा कब्जा गर्ने देखिन्छ । पुर्जा नभए पनि जग्गाको कर बुझाउनेदेखि अन्य सबै लिखित प्रमाण हामीसँग छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *