रामपुरमा राष्ट्रिय भूमि आयोगको केन्द्र स्थापना

काठमाडौँ । पाल्पाको रामपुरमा राष्ट्रिय भूमि आयोगको केन्द्र स्थापना गरिएको छ ।

लालपुर्जा वितरण तथा भूमिहीनहरुको लगत अध्यावधिकका लागि कार्यालय स्थापना गरिएको हो । राष्ट्रिय भूमि आयोगका केन्द्रीय अध्यक्ष केशव निरौलाले केन्द्रको स्थापना गर्नुहुँदै भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीलाई लालपुर्जा दिने गरी केन्द्र स्थापना गरिएको बताए । लालपुर्जा वितरण गर्ने कार्यक्रम असारभित्रैबाट शुरू गरिने उनले बताएका हुन् । आयोगले यसअघि गरेका निर्णय र स्थानीय सरकारको निर्णयानुसार नै आयोग अघि बढ्ने बताउँदै पुर्जा वितरण कार्य रामपुरबाट थालनी गर्ने अध्यक्ष निरौला बताउँछन् ।

यसअघि, चार पटकसम्म भूमिहीन लगत माग भएर छानबिन सकिसकेका ७८३ भूमिहीनलाई पहिलो चरणमा लालपुर्जा दिइनेछ । तत्कालीन गाविस, स्कुल, क्याम्पसले बिक्री गरेका रसिदको भरमा भोगचलन गर्दै वर्षौंदेखि अव्यवस्थित रूपमा रहेका घरजग्गाको लालपुर्जा वितरणका सम्बन्धमा निर्वाचनका बेला चुनावी एजेण्डा बनेका छन् । लगत सङ्कलन र जग्गाधनी पुर्जाविहीन नागरिकको अवस्था मूल्याङ्कन भइसकेकाले आयोगको टोलीले प्रक्रिया अपनाउँदै लालपुर्जा वितरण गर्ने नगर प्रमुख रमणबहादुर थापाले बताए ।

राष्ट्रिय भूमि आयोग आयोगका जिल्ला अध्यक्ष मोहनलाल गैरेले पहिलेको आयोग र समितिले गरेर अन्तिम चरणमा पुर्याएको फाइलको समितिको टोलीले अध्ययन गरिरहेको बताए । टोलीले लालपुर्जा वितरणका लागि खोलिएको सेवा केन्द्रको कार्यालयमा रही भूमिहीनहरूको लगत अद्यावधिक गर्ने उनी बताउँछन् ।

रामपुर नगरपालिका–५ को वडा कार्यालयको तल्लो तलामा केन्द्र स्थापना गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *