एमालेबाट निर्वाचित जनप्रतिनिधिले चुनाव हैन महासंग्राम जितेर आए : अध्यक्ष ओली

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहमा एमालेका जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताएका छन् ।

बिहीबार काठमाडौँमा पार्टीको केन्द्रीय स्कुल विभागले काठमाडौँमा आयोजना गरेको दुई दिने प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै ओलीले एमालेले चुनाव मात्रै नभएर अधिनायकवादी तानाशाही र दमनकारी शासकका विरुद्ध लडेको भन्दै जनप्रतिनिधिले महासंग्राम जितेर आएको बताएका हुन् ।

सम्पूर्ण प्रतिक्रियावादी एमालेविरुद्ध लागेर बुथ कब्जा गरिएको स्थितिको सामना एमालेले गर्नुपरेको उनले बताए । जनमतका रूपमा हुनुपर्ने निर्वाचन भए पनि कुप्रचार र जालझेल भएको उनको भनाई छ ।

अध्यक्ष ओलीले पार्टीको जिम्मेवारीमा रहेर पार्टी र नेतृत्वको विरोध, बदनाम र विस्थापन गर्न लाग्नेहरूलाई समयक्रममा हिसाब–किताब हुने चेतावनी दिनुभयो । स्थानीय तहको निर्वाचनको परिणामले प्रमुखहरूमा अपेक्षाकृत कम जिते पनि लोकप्रिय मतमा एमाले अगाडि रहेकाले कार्यकर्तालाई निराश नहुन उनले आग्रह गरे ।

अध्यक्ष ओलीले स्थानीयभन्दा ठूलो महासङ्ग्राम (सङ्घीय र प्रदेशको निर्वाचन) आउन लागेकाले त्यसमा जुट्न सबैलाई आग्रह गरे ।

एमालेले दुई दिनसम्म गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा एमालेबाट विजयी नगरपालिकाका प्रमुख, उपप्रमुख, गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष तथा जिल्ला समन्वय समितिका प्रमुख–उपप्रमुखलाई प्रशिक्षण दिन लागेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *