रगतमा मूल्यवृद्धि : स्वास्थ्य मन्त्रालय भन्छ रगत निःशुल्क हो, व्यवस्थापन लागत बढ्याे

काठमाडाैँ । रगतमा मूल्यवृद्धि भएको छ । स्वास्थ्य मन्त्रालयले गत चैत २२ गते रगतको मूल्य बढाउने सम्बन्धमा सचिव स्तरीय निर्णय गरेको हाे । सोही अनुसार रगतको नयाँ मूल्य निर्धारण भई मूल्यको सूची नै सार्वजनिक गरिएको छ ।

रगतको मूल्यसँगै ब्लड ब्याग र ट्रान्सफ्युजन सेटको मूल्यमा समेत वृद्धि भएको छ । रगतको मूल्यवृद्धि भएसँगै सर्वसाधारण र नेपाल स्वयंसेवी रक्तदाता समाजले मन्त्रालयको यस कार्यको चर्को विरोध गरेका छन् ।

दाताहरूबाट निःशुल्क संकलन गरेको रगत प्रत्येक बिरामीलाई निःशुल्क उपलब्ध गराउनुपर्नेमा उल्टै मूल्य बढाएको भन्दै रक्तदाता समाजले मूल्यवृद्धि फिर्ता लिन माग समेत गरेका छन् ।

पहिला कति पर्थ्याे, अब कति पर्छ रगतको मूल्य ?

रगतकाे मूल्यवृद्धि भएसँगै पहिले र अहिलेको मूल्यमा ठुलै अन्तर पर्न गएको छ । स्वास्थ्य मन्त्रालयले मूल्य वृद्धि गरेपछि अब रगतको मूल्य प्रति युनिट १ हजार देखि १ हजार ६ सय ४० रुपैयाँसम्म पर्छ ।

यसअघि देशभरि ब्लड बैंक रहेको नेपाल रेडक्रस सोसाइटी अन्तर्गतका रक्तसञ्चार केन्द्रले प्रति युनिट ५२५ रुपैयाँदेखि १ हजार रुपैयाँ सम्ममा रगत उपलब्ध गराउँथ्यो । यो मूल्यवृद्धिको रकमलाई तुलना गर्ने हो भने एक युनिटमा नै ६ सय रुपैयाँले रगतको मूल्य बढेको छ ।

त्यस्तै, ब्लड ब्याग यसअघि ८० रुपैयाँमा पाइन्थ्यो । अहिले ब्लड ब्यागको मूल्य ८० रुपैयाँबाट बढाएर १५० रुपैयाँ पु¥याइएको छ । ब्लड ट्रान्सफ्युजन सेटको मूल्य यसअघि ३० रुपैयाँ पर्थ्यो यो मूल्यमा वृद्धि गरी १ सय रुपैयाँ बनाइएको छ ।

मन्त्रालय भन्छ, लागत वृद्धि भएको हो

दाताले निःशुल्क उपलब्ध गराउने रगतको मूल्यमा किन वृद्धि गरियो भनेर सोध्दा मन्त्रालयले हो हामीले यसको जवाफ दिने होइन भन्छन् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका प्रवक्ता प्रेमकाजी महर्जन ।

स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता समीर अधिकारीले भने मानिसले नबुझेको यसमा रगतको नभएर अरू लागत बढेको बताए । उनले भने, ‘अब रगतलाई सुरक्षित राख्नु प¥यो त्यसका लागि रसायन र सुरक्षित भण्डारणको आवश्यकता पर्छ त्यही लाग्ने खर्च बढेको हो । रगत त निःशुल्क नै छ नि ।’

त्यसो हो भने प्रति युनिटको न्यूनतम शुल्क नै कसरी १ हजार पुग्यो त भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘याे बजार मूल्य अनुसार अन्य खर्चहरू बढेर लागत नै बढेको हो, रगतको मूल्य होइन ।’

धेरै रकमको अन्तर देखिने गरी वृद्धि भएको सन्दर्भमा पहिले कहिले बढेको थियो र अहिले धेरै रकम बढाइयो भन्ने प्रश्नमा अधिकारी भन्छन्, ‘पहिले कहिले बढेको थियो त थाहा छैन । यो बजारमूल्य बढ्दा निरन्तर बढ्छ ।’

रगतको मूल्यवृद्धिसँगै नेपाल रेडक्रस सोसाइटीले मातहतका रक्तसञ्चार केन्द्रलाई नयाँ मूल्य अनुसार रगत बिक्री गर्न सर्कुलर गरेको नेपाल रेडक्रस सोसाइटीका सूचना अधिकारी धर्मदत्त बिडारी बताउँछन् ।

यद्यपि नेपाल रेडक्रस सोसाइटीले रगत निःशुल्क हुनुपर्ने मान्यता राख्ने बताए । सोसाइटीका अनुसार नेपालमा प्रत्येक दिन १२ सय युनिट रगत आवश्यकता पर्छ । यदि सरकारले वार्षिक ६० करोड रुपैयाँ बजेट विनियोजन गर्ने हो भने सबै बिरामीले निःशुल्क रगत पाउँछन् ।

अहिले गण्डकी प्रदेश र काठमाडौँका २ स्थानीय तहले निःशुल्क रगत वितरण गरेर उदाहरणीय काम गरेका छन् । २ स्थानीय तहहरूमध्ये काठमाडौँका कीर्तिपुर र टोखा नगरपालिकाले बजेट नै छुट्याएर निःशुल्क रगत उपलब्ध गराइरहेका छन् ।

नेपाल स्वयंसेवी रक्तदाता समाजले गर्‍यो चर्को विरोध

नेपाल स्वयंसेवी रक्तदाता समाजले रगतमा गरिएकाे मूल्यवृद्धिको चर्को विरोध गरेको छ । निःशुल्क दिनुपर्ने रगतमा सरकारले ज्यादती गरी नागरिकको शोषण गरेको समाजका अध्यक्ष प्रेमसागर कर्माचार्यले बताए । उनी भन्छन्, ‘यो कार्यको समाजले घोर भर्त्सना गर्छ । राज्यले यसरी नागरिकलाई अत्याचार गर्न पाइँदैन । यो मूल्यवृद्धि फिर्ता हुनुपर्छ ।’

यस्ताे छ, रगतकाे नयाँ मूल्यः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *