वडाध्यक्षले स्वीकारेनन् महिला सचिव, मेयर भन्छिन्- ‘उहाँले ठूलो गल्ती गर्नुभयाे, सच्चिनुपर्छ’

काठमाडौँ । खोटाङको हलेसी तुवाचुङ नगरपालिका-१० का वडाध्यक्ष अर्जुनकुमार पुरीले पुरुष कर्मचारी माग गरेका छन् । उनले महिला कर्मचारीसँग काम गर्न असहज हुने भन्दै पुरुष कर्मचारी माग गरेका हुन् ।

वडाध्यक्ष पुरीले मंगलबार प्रमुख प्रशासकीय अधिकृतलाई पत्र पठाउँदै वडा सचिव पुरुष नै व्यवस्था गरिदिन माग गरेका हन् । नगरपालिकाले १० नं वडामा सुशीला दाहाललाई हालै सरुवा गरी पठाएको थियो । तर सोमबार बसेको वडा समितिको बैठकले उनलाई हाजिर नगराई पुरुष कर्मचारी नै माग गर्ने निर्णय गरेको हो ।

‘यो वडा भौगोलिक तथा जनसङ्ख्याको हिसाबले ठूलो रहेको साथै यस वडाको साविक ८ र ९ लाई लक्षित गरी हप्ताको एक दिन नवलपुरबाट सेवा प्रवाह गर्ने काम भइरहेको छ,’ वडाको पत्रमा उल्लेख छ, ‘पञ्जीकरण र सामाजिक सुरक्षाभत्ता अनलाइन प्रणालीबाट प्रवाह भइरहेकाले कामको चाप बढी हुने र जनप्रतिनिधिहरू नयाँ भएको कारणले महिला वडा सचिवबाट कार्य गर्न असजिलो हुने भएकाले यस वडामा पुरुष कर्मचारीलाई नै वडा सचिव व्यवस्था गरीदिन हुन अनुरोध छ ।’

उहाँले ठूलो गल्ती गर्नुभो, सच्चिनुपर्छ : मेयर राई

मेयर विमला राईले वडाध्यक्षले ठूलो गल्ती गरेको प्रतिक्रिया दिएकी छन् । महिला कर्मचारीलाई अस्वीकार गरेकोबारे जानकारी पाएको बताउँदै बिहीबार कार्यालय पुगेर छलफल गर्ने मेयर राईले बताइन् ।

यसबारे नगर कार्यसमितिमा छलफल हुने बताउँदै उनले निर्णय फिर्ता लिन सक्नुपर्ने बताएकी छन् । ‘लोक सेवा आयोग पास गरेर आएका कर्मचारीलाई महिला भएकै कारण अयोग्य भन्ने अधिकार कसैलाई पनि छैन,’ मेयर राईले मकालुखबरसँग भनिन्, ‘उहाँले ठूलो गल्ती गर्नुभयो, निर्णय फिर्ता लिएर आत्मसमीक्षा गर्न सक्नुपर्छ ।’

यो विषयले जिल्लाभर नै चर्चा पाएको छ । जनप्रतिनिधिबाटै लैङ्गिक विभेद भएको भन्दै वडाध्यक्ष पुरीको विरोध भएको हो ।

प्रतिक्रिया

2 thoughts on “वडाध्यक्षले स्वीकारेनन् महिला सचिव, मेयर भन्छिन्- ‘उहाँले ठूलो गल्ती गर्नुभयाे, सच्चिनुपर्छ’

  1. सानो कुरोलाई लिएर, तिलको पहाड नबनाउन अनुरोध गर्दछु। मात्र काम गर्न असहज हुन्छ भन्ने कुरा भुझिदिनु भयो भने पुग्छ।

  2. महिला सँग काम गर्न गाह्रो हुन्छ कि आएको बजेट बढेर खाना गारो हुन्छ किनकि पुरुष को तुलना मा महिला ले घुस लिने काम थोरै छ कहीं यही दर ले त हैन ??????

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve − 5 =