वाग्मती सरकारको बजेट : कुन मन्त्रालयलाई कति ? कस्ता छन् योजना ?

चितवन । वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९ र ८० को लागि ७० अर्ब ९३ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ । आज आर्थिक मामिला तथा योजना मन्त्री सालिकराम जमरकट्टेलले बजेट विनियोजन गरेका हुन् ।

चालू खर्चतर्फ १९ अर्ब २ करोड ४१ लाख, पुँजीगततर्फ ४१ अर्ब ५६ करोड २४ लाख, वित्तीय हस्तान्तरणतर्फ ८ अर्ब ३५ करोड ३७ लाख रुपैयाँ विनियोजन गरिएको छ । वित्तीय व्यवस्थातर्फ २ अर्ब बजेट विनियोजन गरेको मन्त्री जमरकट्टेलले बताए

वाग्मती प्रदेश सरकारले यस पटक मुख्यमन्त्री सीप विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । यस कार्यक्रममार्फत आगामी आर्थिक वर्ष प्रदेशका १० हजार युवालाई स्वरोजगार बनाउने मन्त्री जमरकट्टेलले बताए उनले यस कार्यक्रमको लागि १५ करोड बजेट विनियोजन गरिएको बताए ।

यस पटक वाग्मती प्रदेश सरकारले उद्योग मन्त्रालयलाई ६५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । यस्तै, वन तथा वातावरण मन्त्रालयलाई ३ अर्ब २३ करोड रुपैयाँ बजेट उपलब्ध गराइएको छ ।

यस्तै, वाग्मती सरकारले आन्तरिक मामिला तथा कानुन मन्त्रालयका लागि ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री जमरकट्टेलले बताए ।

वाग्मती प्रदेशका प्रत्येक वडामा प्राविधिकसहित पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि लागि १८ करोड २७ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।

वाग्मतीले बढायो कर्मचारीको तलब 

वाग्मती प्रदेश सरकारले पनि कर्मचारीको तलब  तलब १५ प्रतिशतले बढाएको घोषणा गरेको छ । साउन १ गतेदेखि लागू हुने गरी तलब वृद्धि भएको हो । प्रदेश निजामती सेवामा कार्यरत सबै कर्मचारीको तलब संघीय निजामती सरह १५ प्रतिशत बढाइएको मन्त्री जमरकट्टेलले बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *