बाल अस्पताल खोल्न भन्दै प्रदेश १ सरकारले निजी अस्पताललाई दियो ३ करोड

विराटनगर । प्रदेश १ सरकारले सरकारले स्वास्थ्य सेवाको लागि ३ अर्ब ६७ करोड ७७ लाख बजेट विनियोजन गरेको छ।

आगामी आर्थिक वर्ष २०७९।०८० को बजेट वक्तव्यमा आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले स्वास्थ्य क्षेत्रको सुदृढीकरणको बजेट विनियोजन गरेका हुन् ।

आगामी आर्थिक वर्षमा दमकमा प्रदेश स्तरीय बाल अस्पताल स्थापना गर्न भन्दै एक निजी अस्पताललाई ३ करोड दिने बजेट प्रदेश सरकारले लिएको छ ।

दमकमा बाल अस्पताल स्थापना गर्न काठमाडौँको इन्स्टिच्युट अफ चाईल्ड हेल्थ केयरलाई ३ करोड पुँजीगत अनुदान दिने सरकारको बजेट वक्तव्यमा भनिएको छ ।

मदन भण्डारी ट्रमा सेन्टरको स्तरोन्नति, पाँचथर, इलाम, उदयपुर र धनकुटा जिल्ला अस्पतालको स्तरोन्नति तथा नागरिकको स्वास्थ्य क्षेत्रको सहज पहुँचका लागि २५ करोड ५० लाख विनियोजन गरिएको छ। प्रदेश सरकारको मातहतका अस्पतालको गुणस्तरीय सेवा प्रवाह गर्न र स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न १४ करोड बजेट विनियोजन गरेको छ ।

विशेषज्ञ सेवा भत्तालाई निरन्तरता दिइएको सरकारले मेची अस्पताल सुदृढीकरणको लागि १८ करोड विनियोजन गरिएको जनाएको छ ।

कमल गाउँपालिकाको लखनपुरमा ५० बेडको प्रदेश स्तरीय आयुर्वेद अस्पताल सञ्चालन गर्न २ करोड ५६ लाख , प्रदेश ल्याबको लागि ५ करोड ६१ लाख विनियोजन गरेको छ । सुत्केरी महिला पोषण कार्यक्रमको लागि ५ करोड, गर्भवती महिलालाई प्रदेश १ मा पहिलो पटक निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गर्ने सरकारको बजेटमा उल्लेख छ ।

एक वडा एक बर्थिङ सेवाको लागि ४ करोड, स्थानीय तहका स्वास्थ्य संस्थाको सबलीकरणको लागि ३ करोड विनियोजन गरिएको सरकारले जनाएको छ ।

विद्यालय नर्सिङ कार्यक्रमको लागि ७ करोड ७४ लाख बजेटमा उल्लेख गरिएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *