किसान झुक्याउँदै सरकार, दिने भनिएको राहत पनि दिइएन
बैमौसमी वर्षाले धानबालीमा पुर्याएको क्षतिबापत किसानले ६ अर्ब राहत पाउनु पर्नेमा अर्थले दियो जम्मा १ अर्ब निकासा

काठमाडौँ । बेमौसमी वर्षाका कारण धान बालीमा क्षती भोगेका किसानलाई सरकारले राहत दिने निर्णय गरेअनुसार किसानले अझै उक्त राहत रकम पाउन सकेका छैनन् । गत मंसिर २ गते बसेको मन्त्रिपरिषद बैठकले बेमौसमी वर्षका कारण धानबालीमा क्षति पुगेका किसानलाई राहत दिनेबारे मापदण्ड निर्माण गरी कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
मन्त्रिपरिषद्को उक्त निर्णयअनुसार गृह मन्त्रालयले बनाएको राहत वितरण मापदण्डमा क्षती भोगेका किसानलाई ६५ प्रतिशतसम्म राहत दिने व्यवस्था गरिएको छ ।
मापदण्ड अनुसार १० कट्ठासम्म पूर्ण नोक्सान भएका किसानलाई ६५ प्रतिशत, ११ कट्ठादेखि ४० कट्ठासम्ममा क्षती भएका किसानलाई ३० प्रतिशत र ४१ कठ्ठाभन्दा बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षती भएका किसानलाई २० प्रतिशतसम्म राहत दिने व्यवस्था गरिएको छ । त्यस्तै, आंशिक क्षती भएका किसानलाई २० प्रतिशत राहत उपलब्ध गराउने भनिएको व्यवस्था छ । तर, सरकारले निर्णय गरेको ८ महिना बित्न लाग्नसमेत अझै सबै किसानले राहत पाउन सकेका छैनन् ।
किसानले अझै उक्त क्षतिको राहत नपाएको भन्दै मंगलबारको संसदमा सांसदले प्रश्न उठाएका छन् ।
सांसद गंगा चौधरीले भनिन्, ‘बेमौसमी वर्षाले धानमा क्षती पुगेका किसानले अझै राहत पाएनन् । धान रोप्ने बेलामा किसानले मल त पाएनन् पाएनन् । सरकारले दिने भनेको राहत समेत पाएनन् । कृषि मन्त्री ज्यू किसानले कहिले राहत पाउँछन् ?’
रोस्टममै रहेका कृषिमन्त्री महिन्द्र राय यादवले सबै किसानको क्षतीको विवरण लगत संकलन गरेर गृह मन्त्रालयमा पठाएको जवाफ फर्काए ।
‘विपत्शाखा मार्फत् गृहले नै किसानलाई राहत दिने हो,’ उनले भने, ‘गृहमार्फत नै सम्पूर्ण प्रक्रिया अघि बढेको हो । त्यहाँबाट छुटेका किसानले राहत लिन सक्छन् ।’
मन्त्री यादवले जिम्मेवारपूर्ण जवाफ दिएका थिएनन् । किसानले राहत पाए नपाएको बारे चासो राख्ने दायित्व उनको भए पनि उनी पन्छिन चाहेको उनको अभिव्यक्तिले प्रष्ट हुन्थ्यो । यसबारे गृहमन्त्रालयमा बुझ्दा सबै किसानलाई अझैसम्म राहत नपुगेको पुष्टि भएको छ ।
गृह मन्त्रालयका विपत महाशाखा प्रमुख एवम् हाल प्रवक्ताको जिम्मेवारीमा रहेका सहसचिव प्रदीपकुमार कोइरालाले भने किसानलाई दिने भनिएको करिब ६ अर्ब रुपैयाँमध्ये अर्थमन्त्रालयले १ अर्ब मात्र निकासा दिएको छ । हुँदा त्यही पैसा ३१ जिल्लाका पीडित किसानलाई दामासाहीले बाँडिएको बताए । कोइरालाका अनुसार अर्थ मन्त्रालयले स्रोतको सुनिश्चतता नगरिदिएको हुँदा सबै किसानलाई क्षतीअनुसार दिनेभनिएको रकम उपलब्ध हुन नसकेको हो ।
गत असोज ३१ देखि कात्तिक ५ सम्म आएको वेमौसमी वर्षाले पाकेको धानबालिमा ठूलो क्षति पुर्याएको थियो । क्षति भोगेका किसानलाई राहत दिन सरकारले मंसिर २ मा मन्त्रीस्तरीय निर्णय गरेको थियो ।
उक्त बेमौसमी वर्षाले किसानको ११ अर्ब ८७ करोड ५१ लाख ६० हजार रुपैयाँ बराबरको धानबालीमा क्षति पुगेको सरकारको ठहर थियो ।
कृषि तथा पशुपक्षी मन्त्रालयका अनुसार १ लाख ९२ हजार ३ सय ९४ हेक्टर क्षेत्रफलमा लगाइएको करिब ४ लाख २४ हजार १ सय ११ मेट्रिकटन धानमा क्षती पुगेको थियो । जसअनुसार १० प्रतिशत धान उत्पादनमा ह्रास आई चामल आयात बढ्नसक्ने सरकारको प्रक्षेपण थियो ।









