सुदूरपश्चिमका ८ जिल्लाको समन्वय समिति प्रमुखमा कांग्रेस, एमाले ‘क्लिन स्वीप’

धनगढी । सुदूरपश्चिम प्रदेशका ८ जिल्लाको जिल्ला समन्वय समितिको निर्वाचन सम्पन्न भएको छ ।

बाजुराबाहेक प्रदेशका ८ जिल्लामा समन्वय समितिको निर्वाचन सम्पन्न भइसकेको छ । निर्वाचन सम्पन्न भैसकेका ८ वटै जिल्लाको प्रमुखमा काङ्ग्रेस विजयी भएको छ ।

त्यसमध्ये चार जिल्लामा कांग्रेसका उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् ।

एमालेले समन्वय समितिको उपप्रमुख पनि जित्न सकेको छैन । कैलालीमा सत्ता गठबन्धनबाट काँग्रेसका उम्मेदवार पदमबहादुर कलेल विजयी भए भने उपप्रमुखमा माओवादी केन्द्रका खगराज भुसाल निर्वाचित भए ।

जिल्ला समन्वय समिति कञ्चनपुरको प्रमुख कांग्रेसका दुर्गादत्त बोहरा र उपप्रमुखमा कांग्रेसकै रामकुमारी राना निर्विरोध भएका छन् । जिल्ला समन्वय समिति डडेल्धुरामा पनि नेपाली काँग्रेसका सबै उम्मेदवार निर्विरोध भएका छन् ।

समन्वय समितिको प्रमुखमा काँग्रेसका गगनसिंह भण्डारी र उपप्रमुखमा कांग्रेसकै अमृता ठडालीमगर निर्विरोध भएका हुन्।

जिल्ला समन्वय समिति डोटीका सबै पदाधिकारी पनि निर्विरोध भए । प्रमुखमा नेपाली कांग्रेसका लक्ष्मणबहादुर सिंह र उपप्रमुखमा काँग्रेसकै स्मृति चुनारा निर्वाचित भएका छन् ।

बैतडीको प्रमुखमा गठबन्धनका साझा उम्मेदवार नेपाली कांग्रेसका खगेन्द्रसिंह धामी र उपप्रमुखमा माओवादी केन्द्रका दमनबहादुर कुँवर विजयी भएका छन् ।

सुदूरपश्चिम पश्चिममा एमाले बलियो भएको दार्चुलामा पनि गठबन्धनका उम्मेदवार विजयी भएका छन् । सत्ता गठबन्धन दलको तर्फबाट प्रमुखमा नेपाली काँग्रेसका महादेव बडू र उपप्रमुखमा नेकपा माओवादी केन्द्रका अमरसिंह ठगुन्ना विजयी भएका छन् ।

जिल्ला समन्वय समिति अछामको प्रमुख र उपप्रमुखमा कांग्रेसकै उम्मेदवार विजयी भएका छन् । प्रमुखमा ललितबहादुर कुँवर र उपप्रमुखमा दानमती बम शाही निर्वाचित भए ।

यस्तै जिल्ला समन्वय समिति बझाङमा गठबन्धनका उम्मेदवार निर्विरोध भएका छन् । समन्वय समिति प्रमुखमा काँग्रेसका नरबहादुर बोहरा र उपप्रमुखमा एकीकृत समाजवादीका कृष्णबहादुर विष्ट निर्विरोध भएका छन् ।

नेपाली कांग्रेसको नेतृत्वमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीसहितको गठबन्धनका उम्मेदवारहरूको प्यानल नै निर्विरोध भएको हो । यहाँ नेकपा एमालेले उम्मेदवारी नै नदिएपछि गठबन्धनका उम्मेदवार निर्विरोध भएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय तहको निर्वाचनमा धाँधली भएपछि मतदान रोकिँदा जिल्ला समन्वय समितिको निर्वाचन पनि हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *