स्वार्थले कुँजिएका सामुदायिक विद्यालय

विराटनगर । मोरङको विराटनगर महानगरपालिका वडा नं १८ मा ५ वटा सामुदायिक विद्यालय रहेका छन् । यी सबै विद्यालयमा विद्यार्थीको संख्या अत्यन्त न्युन रहेको छ ।

विद्यार्थीको संख्या कमजोर त छ नै विद्यालयको भौतिक अवस्था पनि कमजोर छ । यही वडाको राम आधारभुत विद्यालयको भएको दुईवटा कक्षा कोठामा पनि झ्याल छैन भने तारबार नभएको कारण विद्यालयमा भएका सामाग्री चोरी हुने गरेको वडा अध्यक्ष जितेन्द्र कुमार साह बताउँछन् ।

यो विद्यालय मात्र हैन, जनता आधारभुत र जनता प्राबि सहितका विद्यालयको अबस्था पनि उस्तै नै रहेको उनी बताउँछन् । विद्यालय नाम मात्रको भएको र सुधार गर्नको लागि आफु निर्वाचित भएर आएपछि विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकलाई बैठकमा बोलाएको भएपनि ३ वटा विद्यालयको मात्र अध्यक्ष आएको तर अरूले वास्तै नगरेको गुनासो गरे ।

विद्यालयका हरेक काममा राजनीतिकरण गर्ने गरेको कारण विद्यालय ब्यवस्थापन समितीहरु आफ्नै हिसावले चल्ने गरेका छन् । सामुदायिक विद्यालयको सुधारमा वडा अध्यक्षको भुमिको बारेमा संवाद समुहले विराटनगरमा आयोजना गरेको संवादका क्रममा विद्यालय सुधारकोलागि केही गरौँ भन्ने वडा अध्यक्षहरूलाई विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले असहयोग गर्ने गरेको बताएका हुन् ।

बैठकमा बोलाउँदा नआउने, आइहाले पनि निर्णयहरू कार्यान्वायनमा नलाग्ने, विद्यालयमा शिक्षक नियमित नबस्ने, विद्यार्थीको पढाईमा ध्यान नदिने कारणले शिक्षा क्षेत्रमा सुधार हुन नसकेको वडा अध्यक्षको भनाइ छ।

विराटनगर महानगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम पोखरेलले तीनवटा सामुदायिक विद्यालय रहेकोमा एउटा विद्यालय सुधारउन्मुख रहेको भएपनि विद्यार्थीको संख्या अत्यन्त कमजोर रहेको बताए । ज्ञानकुञ्ज आधारभुत विद्यालय, महेन्द्र मावि र एउटा मदरसा रहेकोमा मदरसामा विद्यार्थीको संख्या राम्रो भएपनि अरू दुई विद्यालयलाई सुधार गरेर जानको लागि निक्कै चुनौती रहेको बताए ।

पोखरेलका अनुसार विद्यालय शिक्षामा सुधार गरेर जाने हो भने विद्यालयमा दिइने योजना र बजेट सबै वडा माताहतबाट भएको सिफारिसको आधारमा विद्यार्थीको संख्यामा ध्यान दिएरमात्र योजना दिइनुपर्ने बताए । ‘शिक्षक स्थानीय तह माताहतमा ल्याउने, शिक्षकहरुलाई हरेक ३ वर्षमा सरुवा गर्नु पर्छ, उनले भने, फर्जि विद्यार्थी देखाएर अनुकुलको शिक्षक राख्ने विद्यालयलाई कानुनी दायरामा ल्याउन पर्छ ।’

वडा नं १२ का अध्यक्ष हिरालाल कामतले आफ्नो वडामा शिक्षाको अवस्था कमजोर रहेको बताए । ‘विद्यालयको अध्यक्ष भएर ३ पटकसम्म बसेँ, उनले भने, केही सुधार गर्न खोज्दा पनि शिक्षकहरूले नपढाउँदा निक्कै समस्या भयो ।’ अब विद्यालयमा नियमित अनुगमन नगर्ने हो भने सुधार गर्न निक्कै गाह्रो रहेको उनले बताए ।

अब हरेक १० बजेदेखि ११ बजेसम्म विद्यालयमा गएर निगरानी नबढाई नहुने अवस्था आएको उनको भनाइ छ ।
‘वडा भित्रको सामुदायिक विद्यालय सुधार गर्ने हो भने अधिकार वडालाई दिनुपर्छ, उनले भने, विद्यालय व्यवस्थापन समितिले वडालाई समेत नटेर्ने गरेको कारण विद्यालय सुधारको कुरा असहज बन्दै गएको छ ।’

तल्लो तहमा सुधार जरुरी
वडा नं १०का अध्यक्ष अर्जुन गिरीले यो वडामा आदर्श, भानु र नारायण आधारभूत विद्यालय रहेको भएपनि नजिकै ठूला नाम चलेका विद्यालय हुँदा विद्यार्थीको संख्या अत्यन्त कम रहेको बताए । सुधारको लागि विद्यालय तहलाई अत्यन्त बालमैत्री बनाई आधारभुत तहलाई नमुना सिकाई केन्द्रको रूपमा विकास गरेर लग्न सकिने बताए ।

न्युन विद्यार्थी, शैक्षिक सिकाईको अवस्था कमजोर, भौतिक पूर्बाधारको कमी र शिक्षकको शिक्षण सिकाई क्रियाकलापमा देखिएको कमीको कारण समस्या देखिएको उनको भनाइ छ । ‘म निर्वाचित हुनु भन्दा पहिला पनि शिक्षाको स्तरोन्नती कसरी गर्ने र भौतिक प्रगती कसरी गर्ने भनेर छलफल भएको थियो, उनले भने, अब मन्टेश्वरी संचालन गर्ने र राम्रो बनाएर विद्यार्थीको आकर्षण बढाउने कुरा छ ।’

अभिभावकले सामुदायिक विद्यालयमा आफ्ना बच्चा पढाउन नचाहँदा विद्यालयलाई मर्ज गरेर जान सकिन्छ की भन्ने बारेमा पनि छलफल र तयारीहरू भएको बताए । वडा नं १६ का अध्यक्ष उद्धव भुजेलले माहामय भगवती कक्षा ५ सम्म र मिल्स मावि २००३ सालमा स्थापना भएको विद्यालय पहिलाकै अवस्थामा संचालन रहेको बताए ।

अहिलेकै अवस्थामा विद्यालयको स्तरोन्नति हुन नसक्ने बताउँदै उनले अंग्रेजी माध्यमबाट पढाई शुरू गर्ने तयारी गरिएको जानकारी दिए । ‘यो वर्षदेखि बजेट छुट्याएर नै विद्यालय शिक्षामा सुधार गरी अंग्रेजी माध्यमबाट लग्ने तयारी छ, उनले भने, तल्लो कक्षामा अंग्रेजी माध्यमबाट पढाउने हो भने जग बलियो बनाउने सोचेका छौँ ।’

विद्यालयमा राजनीति हाबी
विराटनगर महानगरपालिका ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपानेले एक विद्यालयका २ जनालाई राजनीति दलको सदस्यबाट राजीनामा दिन लगाए । पढाउन ध्यानै नदिएपछि उनले पार्टीबाट राजिनामा दिन लगाए र शिक्षण पेशामा मात्र लाग्न भने । अरुणोदय आधारभूत विद्यालय र जनपथ मावि रहेको यो वडाका विद्यालय उत्कृष्ट र सन्तोषजनक नभएपनि सुधारोन्मुख रहेको न्यौपाने बताउँछन् ।

‘शिक्षकहरू नेता हुनुहुँदैन राजनीति गर्नु हुँदैन भन्ने नै हो, उनले भने, विद्यालय राम्रा बन्नका लागि शिक्षक, अभिभावक र जनप्रतिनिधिको समान भूमिका छ ।’ वडा नं २ का वडा अध्यक्ष कुमार पोखरेलले वडा नं २ मा रहेको जनता नमुना माध्यामिक विद्यालय शिक्षक र विद्यालय व्यवस्थापन समितिको राजनीतिकै कारण अहिलेको अवस्थामा पुगेको बताए । जनता नमुना मावि, शंखरपुर प्रावि, विराट महेन्द्र रात्री मावि भौतिक पूर्वाधारमा अब्बल भएपनि शैक्षिक सुधार र विद्यालयमा विद्यार्थीको संख्या कम रहेको विद्यालयमा पर्छन् ।

एक वर्ष अघिसम्म ६० जना विद्यार्थीमा झरेको जनता माबिमा अहिले २ सयजना विद्यार्थी पुगेका छन् । अहिले शंखरपुरमा ६० जना विद्यार्थी रहेका छन् । महेन्द्र रात्री मा.बि.मा भौतिक पूर्वाधार र कम्युटरको व्यवस्था छ तर शैक्षिक सुधारको अवस्था कमजोर रहेको वडाअध्यक्ष पोखरेलले बताए । ‘शिक्षकको कारण नै विद्यालयहरू राम्रो हुन सकेको छैन, उनले भने, व्यवस्थापन समिति र शिक्षक सुध्रिने बित्तिकै विद्यालयको सुधार हुन्छ ।’

वडा नं ३ का वडा अध्यक्ष बासु बस्नेतले पोखरिया माबि देशकै सबैभन्दा राम्रो विद्यालयको रूपमा स्थापित भएको बताए । अत्यधिक विद्यार्थीको चाप रहेको तर भौतिक पूर्वाधार अभाव देखिएको उनको भनाइ छ । राम्रो व्यवस्थापन गर्ने व्यक्ति हुँदा कुनै विद्यालय नमुना भएका र व्यवस्थापन गर्न नसकेका विद्यालयहरू सुधार हुनै नसकेको उनले सुनाए ।

अध्यक्षका वाचा
सामुदायिक विद्यालय सुधार हुन नसक्नुको कारण शिक्षक र व्यवस्थापन समितिका बीचमा राजनीतिक आग्रह र पूर्वाग्रह नै रहेको वडा अध्यक्षहरूको निष्कर्ष छ । सरकारले शिक्षा नीति नल्याउँदासम्म विद्यालय सुधार हुन नसक्ने वडा अध्यक्षहरुको बुझइ छ ।

‘शिक्षाको नीति परिवर्तनको लागि तत्काल सरकारले काम गर्नु पर्छ, वडा अध्यक्षहरू भन्छन्, विराटनगर महानगरपालिकाले तत्काल आन्तरिक शिक्षा निति बनाउने र बनेको नीतिलाई कार्यान्वायनमा लग्नु पर्छ ।’
वडा भित्रको विद्यालय सुधार गर्ने जिम्मा वडालाई दिनुपर्ने र आवश्यकता अनुसार शिक्षकलाई हेरफेर गर्न सक्ने व्यवस्था गर्नुपर्ने उनीहरूको निचोड छ।

शिक्षक एक्सचेन्ज कार्यक्रम संचालन गरेर जान सकिने र स्वयमसेवी संस्थाहरुसँग सहकार्य गरेर जाने, शिक्षा क्षेत्रको सुधारका लागि वडा अध्यक्षहरूले हरेक पर्याप्त समय दिने, विद्यालयका विद्यार्थी संख्या बढाएर जाने, शिक्षकलाई जवाफदेही बनाउने, विद्यालयको समस्यालाई समाधान गर्न छलफल चलाउने, शिक्षकको पढाइको

अनुगमन गर्ने तथा विद्यालय व्यवस्थापन समिति र शिक्षकबीचको सहजीकरण गरेर समस्याको समाधान गर्न पहल गर्ने वडा अध्यक्षहरूको वाचा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *