कृषकलाई सहजरूपमा मल उपलब्ध गराउन सरकारलाई संसदकाे निर्देशन

काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधिसभाले अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरूपमा उपलब्ध गराउनका लागि सरकारलाई निर्देशन दिएको छ ।
सोमबार बसेको बैठकले रासायनिक मलसम्बन्धी जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव सर्वसम्मतिले पारित गर्दै अत्यावश्यक रासायनिक मल कृषकलाई सहजरूपमा उपलब्ध गराउनका लागि सम्भाव्य सबै उपाय अवलम्बन गरी कार्य सम्पादन गर्न सरकारलाई निर्देशन दिएको हो ।
रासायनिक मल कृषि उत्पादन वृद्धिको लागि अत्यावश्यक रहेको र हाल प्रमुख बालीको रूपमा रहेको धान बाली लगाउने समयमा समेत रासायनिक मल उपलब्ध नभएको विषयमा गम्भीर ध्यानाकर्षण भएको सभामुख अग्नि सापकोटाले बताए ।
उनले कुल गार्हास्थ उत्पादनमा २५ प्रतिशत योगदान दिने कृषि क्षेत्रका समस्या समाधान गर्ने कार्यलाई प्राथमिकता दिन सरकारलाई निर्देशन दिए ।
त्यसअघि बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महेन्द्रराय यादवले समयमा नै समयमा मल नल्याउने कतिपयको ठेक्का रद्द गरेर कारबाही प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
उनले अहिलेको टेन्डर प्रक्रियामा मल ल्याउन २ सय २६ दिन लाग्ने भएकाले यसलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए । मल अभावलाई अन्त्य गर्नका लागि भारतसँग जीटूजी प्रक्रियाबाट मल ल्याउने प्रयास भइरहेको उनले बताए । मन्त्री यादवले असार मसान्तभित्र पर्याप्त मल आउने पनि दाबी गरे ।
मन्त्री यादवले अन्तर्राष्ट्रिय बजारमा मल अभाव भएका कारण पनि त्यसको प्रभाव नेपालमा परेको जिकिर गरे ।








