के माओवादीले अर्थमन्त्रीलाई फिर्ता बाेलाउँदैछ ?

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) ले अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बाेलाउनेबारे छलफल गर्ने भएकाे छ । अर्थमन्त्री शर्माकाे कामकाे विषयलाई लिएर पार्टीभित्र केही समयअगावै छलफल प्रारम्भ भएकाे एक पूर्वस्थायी कमिटी सदस्यले स्वीकारेका छन् । ‘अलिक पहिले पनि उहाँ (अर्थमन्त्री) काे काम-कारबाहीकाे विषयलाई लिएर केही कमरेडहरूले प्रश्न उठाउनुभएकाे थियाे,’ ती सदस्यले भनेका छन्, ‘अहिले पनि त्यही विषयले पार्टीभित्र स्थान पाएकाे हाे । अध्यक्ष कमरेड भ्यालीबाहिर हुनुहुन्छ । उहाँ फर्किएपछि थप छलफल हुन्छ ।’

अब अर्थमन्त्रीलाई कहिले फिर्ता बाेलाउँछ पार्टीले ? भन्ने मकालुखबरकाे जिज्ञासामा ती सदस्यले भनेका छन्— ‘अहिले त निर्णय भएकै हाेइन, कसरी याे मितिमा बाेलाउँछ भनेर भन्नू ? त्यसमा अध्यक्ष कमरेडले नै केही गर्नुहाेला । केही कमरेडहरूले पनि त्यसबारे छलफल गर्न खाेज्नुभएकाे छ ।’

यसअघि आइतबार अपराह्न पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्थमन्त्री शर्मालाई खुमलटार नै बाेलाएर छलफल गरेका थिए । उनीहरूबीच झन्डै २ घण्टा छलफल भएकाे थियाे । छलफलमा के के कुराकानी भयाे भन्नेबारे भने खुलाउन चाहिएकाे छैन । प्रचण्ड सचिवालयका सदस्यहरूले यसबारे आफूहरूलाई जानकारी नभएकाे बताउँछन् । पूर्वस्थायी कमिटी सदस्य देवप्रसाद गुरुङ प्रचण्ड-शर्माकाे पछिल्लाे भेटबारे जानकारी भएपनि त्यसबाहेक अन्य जानकारी आफूसँग नभएकाे जिकिर गर्छन् । ‘उहाँहरूबीच भेटचाहिँ भएकाे हाे । तर त्यसमा के के भयाे ? के के विषयमा कुराकानी भयाे ? भन्ने केही जानकारी छैन,’ उनले भनेका छन् ।

उनले पार्टीभित्र उठेका तमाम विषयबारे असार १५ मा बस्ने केन्द्रीय कमिटी बैठकमै छलफल हुने बताउँछन् ।

०००

यसबाहेक अर्थमन्त्री शर्माकाे राजीनामा संसद्‌मा पनि मागिएकाे छ । आव २०७९/८० काे बजेटअन्तर्गत राजस्वकाे दर ताेक्ने कुरामा एक पूर्वनासुकाे निर्णयलाई मानेकाे भन्दै अर्थमन्त्री शर्माकाे आलाेचना शुरू भएकाे छ । यससँगै उनकाे राजीनामा सांसदहरूले मागेका हुन् ।

साेमबारकाे संसद्‌ बैठकमा प्रमुख प्रतिपक्ष दल एमालेका सांसदहरूले अर्थमन्त्री शर्माकाे राजीनामा मागेका छन् । एमाले सांसद याेगेशकुमार भट्टराईले भनेका छन्, ‘संसदीय इतिहास हेराैँ र निर्णय लिऔँ । हामीले संसदीय नजिर हेर्‍याैँ भने केही आराेप लाग्नेबित्तिकै मन्त्रीहरूले राजीनामा दिनुभएकाे छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *