शकुन्तला मञ्जरीको ‘निरक्षर योगमाया’ कविता प्रथम

विराटनगर । कोसी सांस्कृतिक प्रतिष्ठान नेपालले आयोजना गरेको खुल्ला कविता प्रतियोगितामा इटहरीकी कवि शकुन्तला मञ्जरी प्रथम भएकी छन् ।

मोरङको झोराहाट नाट्य घरमा आयोजित प्रतियोगितामा मञ्जरीले ‘निरक्षर योगमाया’ शीर्षकको कविता वाचन गरेर प्रथम स्थान हासिल गरेकी हुन् ।  ‘घर’ शीर्षकको कविता वाचन गरेर हेटौडाका कवि बिर्खे अञ्जान द्वितीय र ‘अयोग्य सुन्दरी’ शीर्षकको कविता वाचन गरेर मोरङकी बविता घिमिरे तृतीय भइन् । इटहरीकी तारा पराजुली ढकाल र झापाका प्रचुर अभाव चौथो भएका छन् ।

ढकालले ‘आमालाई प्रश्न’, र प्रचुर अभावले ‘अनुत्तरित प्रश्न’ शीर्षकको कविता सुनाए ।  प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र चौथो हुने कविहरूलाई क्रमशः १२, १०, ७ र ५ हजार नगद प्रदान गरिएको थियो । प्राज्ञ विवश पोखरेल, साहित्यकार मधु पोखरेल र शुभलक्ष्मी लम्सालको निर्णायक समितिले पुरस्कृतहरूको नाम घोषणा गरेका थिए ।

आयोजक संस्थाका अध्यक्ष शशीकिरण र ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रसाद गच्छदार लगायतले पुरस्कार र प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा प्रदेश–१ का प्रदेशसभा सदस्य विजय विश्वासले साहित्यको क्षेत्रमा ग्रामथान उर्वर बन्दै गएको बताए ।

झोराहाट नाट्य केन्द्रका अध्यक्ष भरत गुरागाईँ ‘बर्बरिक’ले नाट्य केन्द्रले लामो समयदेखि झोराहातमा कविता र साहित्यमा योगदान दिँदै आएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *