अमेरिका भ्रमणबारे जानकारी लिन संसदीय समितिले प्रधानमन्त्री देउवालाई बाेलायाे

काठमाडौँ । संसदीय समितिले आसन्न अमेरिका भ्रमणका बारेमा जानकारी लिन प्रधानमन्त्री शेर बहादुर देउवालाई बोलाउने निर्णय गरेको छ ।
सिंहदरबारमा सोमबार बसेको प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले आगामी असार ५ गते अमेरिका भ्रमणका बारेमा लिन प्रधानमन्त्रीलाई बोलाउने निर्णय गरेको हो ।
यसअघि प्रधानमन्त्री देउवाको अमेरिका भ्रमणबारे संसद्लाई जानकारी गराउन एमालेले माग गरेको थियो । त्यस्तै बैठकले नेपालको परराष्ट्र नीतिका बारेमा छलफल गर्न असार ३ गते परराष्ट्रमन्त्री डा. नारायण खड्कालाई समितिमा बोलाउने निर्णय गर्दै यसका लागी पत्राचार गरिने समिति सभापति पवित्रा निरौलाले जानकारी दिए ।
बैठकमा समिति सदस्यहरूले प्रधानमन्त्रीको अमेरिका भ्रमणका बोरमा अनेक आशंका पैदा भएको भन्दै सरकारले स्पष्ट पार्नुपर्ने धारणा राखेका थिए । सांसद माधव कुमार नेपालले नेपालको परराष्ट्र मामिलामा कुनै पनि हस्तक्षेप स्वीकार्य नहुने बताए ।
त्यस्तै सांसद प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको भ्रमणको व्यवस्थापनमा नै प्रश्न चिन्ह उठेको बताए । उनले अमेरिकामा विभिन्न सहमति हुने चर्चा सुनिएको भन्दै प्रस्ट हुनुपर्ने उल्लेख गर्नुभयो । त्यस्तै सांसद भीम रावलले समितिमा जानकारी गराउँदा प्रधानमन्त्रीले अपमानका रूपमा सोच्न नहुने बताए ।
बैठकमा अन्य सदस्यहरूले मुलुकको राष्ट्रियतालाई मध्यनजर गर्दै नेपालको परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्ने धारणा राखेका थिए ।








