निहारिका राजपूतकाे प्रण- ‘अति भएपछि सडकमा आएँ, मर्छु तर न्याय नपाएसम्म अनशन तोड्दिनँ’ (अडिओवार्तासहित)

काठमाडाैँ । धनुषा जिल्लाकी निहारिका राजपूत अहिले वसन्तपुरमा आमरण अनशन बसेकी छन् । २१ महिनाको दुधे बालक च्यापेर बसेकी निहारिका २० वर्षकी अविवाहित आमा हुन् । उनी जेठ २६ गतेदेखि अनशनमा छिन् । आज (आइतबार) उनकाे अनशनकाे तेस्राे दिन हाे । उनले आफू १७ वर्षकाे हुँदा शिवराज श्रेष्ठ नाम गरेका एक व्यक्तिले नशालु पदार्थ खुवाएर बलात्कार गरेकाे त्यसैबाट अहिले आफूसँग रहेकाे २१ महिने शिशुकाे जन्म भएकाे बताउँदै आएकी छन् ।

उनले न्यायका लागि प्रहरी प्रशासनदेखि महिला आयाेगकाेसम्म ढाेका ढक्ढक्याए पनि केही सीप नलागेकाे बताउँछिन् । तर आफूले न्याय नपाएपछि अन्तिम विकल्पकाे रूपमा सडक सङ्घर्षकाे सहारा लिनुपर्ने उल्लेख गरेकी छन् । उनले धनुषा जिल्ला अदालतसमेत दाेषीकै पक्षमा उभिएकाे उनकाे प्रष्टीकरण छ । उनले भनेकी छन्, ‘धनुषा जिल्ला अदालतले २०७८ माघ २४ गते अपराधीको पक्षमा फैसला गरिदियो । अपराधीको पक्षमा आएको फैसला मेरो काखमा रहेको बच्चा र मैले रुँदै सुन्नुको बाहेक अर्को विकल्प थिएन ।’

निहारिका राजनीतिक हस्तक्षेप र सामाजिक उपेक्षासँग अघाएकी छन् । उनी परिवार र छरछिमेकबाट पनि तिरस्कृत भएपछि २ महिनायता काठमाडाैँमै बसेकाे सुनाउँछिन् । उनलाई धनुषा उच्च अदालतले २०७८ फागुन १२ गते साेही मुद्दा दायर गरेकाे सम्झिन्छिन् । तर अहिलेसम्म पेशी नताेकिएकाे उनकाे भनाइ छ । त्यसमा पनि राजनीतिक चलखेल भएकाे उनकाे बुझाइ छ, भन्छिन्— ‘उच्च अदालतले पनि मेराे मुद्दालाई लिङ्गरिङ गरिरहेकाे छ ।’ त्यसअघि उनी प्रश्न गर्छिन्— म अदालतकाे फैसला कुरेर कतिन्जेल बस्ने ?

आफूलाई अदालतकाे फैसलाप्रति एक थाेपाे पनि विश्वास नरहेकाे सुनाउँछिन् निहारिका । यी यावत् कुराहरूले आफूलाई ‘मर्न’ मन मात्रै लाग्ने कुरा उनी लुकाउँदिनन्, भन्छिन्— ‘अहिले दिमागमा मर्ने सोच मात्रै आइरहन्छ ।’

000

अनशन बसेकाे वसन्तपुर पुग्दा निहारिका त्रिपालमुनि पल्टिरहेकी थिइन् । गलेकाे शरीर र मलिन अनुहार; उनी बाेल्न मानिरहेकी थिइनन् । तैपनि धेरै कुराहरू उनीबाटै मुखरित हाेस् भन्ने ध्येयका साथ उनलाई प्रश्न गर्‍याैँ । ‘तपाईं आमरण अनशन बस्नुभएकाे छ, किन बस्नुभयाे ?’ भन्ने मकालुखबरकाे प्रश्नमा उनले  यी यी कुराहरूलाई भनेकी छन् ।

यो विसं २०७६ काे कात्तिक महिनाको घटना हो । त्यतिबेला मेरो उमेर १७ वर्षको थियो । कात्तिक महिनाको एक साँझ मेरो साथीले मलाई आफ्नो घरमा बोलाइन् । मलाई त्यस घरमा झुक्याएर नशालु पदार्थ खुवाइयाे । बेहाेश अवस्थामा मलाई मेरो साथीको आफ्नै दाइले बलात्कार गर्‍याे । उसले त्यतिमात्रै गरेन, मेरो अश्लील भिडिओ र फाेटाेसमेत लिएछन् र त्यसै आधारमा मलाई पछि धम्कीसमेत दिइयाे, ब्ल्याकमेल गरियाे । मलाई मात्रै हाेइन, मेरो परिवारलाई समेत धम्की दिइयाे । मविरुद्ध उजुरी गरिस् भने सबै सामाजिक सञ्जालभरी तेरो अश्लील भिडिओ हालिदिन्छु भनेर धम्की दिइयाे ।

घटना भएको १४ दिनपछि म प्रहरीकहाँ गएँ । त्यसमा प्रहरीले मैले लगाएको लुगाको आधारमा मेरो चरित्रमाथि नै ‍‍औँला उठाएर घटनाबारे अनुसन्धान नै गरेन । त्यसपछि पनि म लगातार न्यायको लडाइँमा हिँडिहरेँ तर, मेरो केही सीप लागेन । उनीहरूकाे राजनितीक पहुँच र पावरको कारण मैले केही पनि गर्नै सकिनँ । एक डेढ महिना यत्तिकै भौतारिँदैमा गयाे । डेढ महिनापछि घटनाबारे दर्ता गर्ने बेलामा मेडिकल रिपोर्ट मागियो । रिपोर्टमा म गर्भवती भएको खुल्यो । बलात्कारपछि गर्भवती भन्ने खुलेपछि पनि मैले महिला अधिकारकर्मीदेखि धेरै संस्थाको सहयोग पाउने अपेक्षाले कुरा राख्दै हिँडे । तर सबैले मलाई नै उल्टै अपराधी करार गरे । उनीहरूकाे सल्लाह जसरी भएपनि बच्चा फाल्ने भन्ने थियाे । त्यसपछि मैले आफ्नो बच्चा नफाल्ने निर्णय गरेँ । जुनसुकै घटनाबाट गर्भवती भएपनि म उसको आमा हो भन्ने सोचेर मैले बच्चा फाल्नै सकिनँ । यसकै लागि लड्छु भनेर जन्माएँ । मेरो यो निर्णयमा कसैले पनि साथ दिएनन् । मेरो यो लडाइँमा म एक्लो भइसकेकेी थिएँ ।

२०७७ साल भदौ ५ गते मेरो छोरा जन्मियो । घटना भएको २ वर्षसम्म पनि मलाई बलात्कार गर्ने मान्छे समातिएन । अरुकै बच्चा बोकेकी होस् भनेर दोष लगाउने क्रम चलिलह्याे । बच्चा एक वर्षको भएपछि पीडक अदालतमा आफैँ हाजिर भयो । तर अदालतले माघ २४ गते उसलाई सफाइ दियाे । उसले बयानमा म यो केटीलाई बहिनीको साथीको नाताले मात्रै चिन्छु भनेको छ । उसले त्यसो भनेपछि मैले डीएनए टेस्टको माग राखेँ । त्यसपछि निरन्तर मेरो छोरा र मलाई मार्ने धम्की आउन थाल्यो । यो अनशन बस्ने ३ दिनअघिसम्म पनि धम्की आइरहेको थियो । आत्महत्या गर्नुको सट्टा मैले जन्माएको सन्तानको न्यायको माग गरेरै मर्छु भनेर यहाँ आएकी हुँ । अब मेरो बच्चाको डीएनए परीक्षण नभएसम्म, अपराधीलाई कारबाही नभएसम्म म यहाँबाट उठ्दिनँ ।

ममाथि प्रहरीले बल प्रयाेग गरेकाे छ । मेरो बच्चामाथि समेत हातपात भएकाे छ । मैले आफू डिप्रेसनमा जाँदासमेत मेरो बच्चालाई जन्माएर स्वस्थ हुनेगरी हुर्काउँदै छु । अहिले न्याय माग्दा ममाथि राज्यले नै ज्यादती गरेको छ । मेरो यहीँबाट लास उठोस् तर न्याय नपाइ अनशन तोड्दिनँ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.