ककनी पोल प्रकरणः घण्टाको १० लाख घाटा भएको कुलमान घिसिङको भनाइ

काठमाडौँ । नुवाकोटको हाइटेन्सन लाइनमा मानसिक सन्तुलन गुमाएका एक व्यक्ति तारतारै हिँडेका कारण सुरक्षाका लागि त्रिशुली थ्री ए जलविद्युत आयोजना ६ घण्टादेखि पूर्णरूपमा बन्द भएको छ । पावरहाउस बन्द गर्नुपर्दा लाखौंको घाटा भएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने, ‘एउटा मान्छेले गर्दा घण्टाको १० लाख घाटा भइरहेको छ । कोही जान नसक्ने रहेछ, त्यो मान्छे तल पनि झर्दैन । मान्छे देख्दादेख्दै लाइन छोड्ने कुरा भएन ।’ उनका अनुसार अहिले झण्डै ७० मेगावाट विद्युत प्रसारण अवरुद्ध छ। ‘काठमाडौँ आउने, भारत पठाउने सबैतिर जाने राष्ट्रिय प्रसारण लाइन यही हो।’

आज शनिबार बिहान १० बजेदेखि पोलमा चढेका उनी अहिलेसम्म तारमा हिँडिरहेका छन् । ज्यान जान सक्ने भन्दै प्रहरी र स्थानीयले ओर्लन भन्दा समेत उनी ओर्लन मानेका छैनन् । विद्युतको पोलमा चढेर हाइटेन्सन लाइनमा यताउता गरिरहेका उनी बेलकोटगढी नगरपालिका–१३ घलेगाउँका ४४ वर्षीय माइला विक रहेको बुझिएको छ ।

प्रहरीहरूले उनलाई मासुभात खान दिने भन्दै भुइँमा ओर्लन फकाइरहेका छन् । साथै, उनलाई सेनाको हेलिकप्टरबाट उद्धार गर्ने तयारी भइरहेको ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले४ जानकारी दिए ।

प्रहरीले उनको मानसिक अवस्था अस्वस्थ रहेको जनाएको छ । 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *