सिथी नखः ‘भ्वे’लाई ‘होइ’ गरौँ, हेला नगरौँ

नेपाली समाज कला-संस्कृतिको धनी मात्रै छैन, वैज्ञानिक पनि छ । यसका कैयन् उदाहरणहरू छन् । जसमध्ये एक हो, नेवारी समुदायको चाड ‘सिथी नखः’ ।

नेपाली पात्रोअनुसार जेष्ठ शुक्लषष्ठीका दिन मनाइने यो पर्व अंग्रेजी पात्रोमा भने प्रत्येक वर्षको वातावरण दिवस (जून छ)कै दिन मनाइन्छ । यसको प्रमुख उद्देश्य भनेको ‘पानीको मुहान सरसफाई’ हो । गहन रूपमा हेर्ने हो भने यसको बृहत्  वैज्ञानिकता छ । अब सिथी नखःबारे थप बुझौँ ।

सिथी नखः पनौती, धुलिखेल, काठमाडौँका नेवार समुदायले विशेष रूपमा मनाउँछन् । यसलाई वर्षायामको पहिलो दिनको रूपमा समेत लिइन्छ । लिच्छविकालीन यो चाडको सुरुवात ‘मध्य ईसा ४०० देखि ७५० पूर्वतिर शुरू भएको हो’ भन्ने आँकलनहरू गरिन्छ । जानकारहरूको मत पनि यही छ ।

चाडको धार्मिक महत्त्वबाहेक वातावरणीय पक्षपनि उत्तिकै सबल देख्न सकिन्छ । यस दिन पानीका श्रोतहरू जस्तैः इनार, पोखरी र धाराहरू सफा गर्ने चलन रहिआएको छ । स्थीर पोखरी-तलाउ आदि लामखुट्टेहरूका लागि आश्रय स्थल हुने भएकाले स्थीर पानीबाट नै टाईफाइड, हैजा र झाडा-पखालाजस्ता पानीजन्य रोगहरू फैलिने डर रहने गर्छ । सहरी क्षेत्रमा हुने भीड, अव्यवस्थित फोहोर व्यवस्थापन प्रणाली, खुला दिसा–पिसाबजस्ता समस्याहरूले भयंकर महामारीहरूलाई जन्म दिएको हुनसक्ने र यी सबै समस्याहरूको समाधान गर्ने उद्देश्यले पनि तत्कालीन राज्य र समुदायको योजनाअन्तर्गत सिथी नखः को सुरुवात गरेको हुनसक्ने देखिन्छ ।

यसरी पानीका मुहानहरू सफा गर्दा वर्षामा मज्जाले पानी पर्ने जनविश्वास रहेको पाइन्छ । साथै, यस पर्वले पानीको स्रोत संरक्षण र स्वच्छ पानीको आवश्यकतालाई पनि उजागर गर्दछ । आफ्नो टोलछिमेकमा रहेको पानीका मुहानहरू सफा गरिसकेपछि पूर्खाहरूको देवतालाई श्रद्धाञ्जलीस्वरूप पूजा पनि गर्ने चलन छ ।

नेवारी समुदायको यस विशेष दिन खानामा ‘व’ अर्थात् मासको दाल, मुङ्ग, सानो केराउ र मुसुरोगरी चार थरीका बाराहरूको साथमा चटामरी (चामलको पीठोबाट बनेको रोटी)  नेवारी परिकारहरूको खाजा खाने गरिन्छ । अघिल्लो दिन नै पुरुष सदस्यहरूले सफाइ सामग्रीहरू तयार गर्दै गर्दा, महिलाहरूले पकवानका लागि चारथरी दालहरू रातभरि भिजाउनुपर्छ । 

पुरुषहरू उनीहरूको नजिकको पानीको स्रोतको सरसफाई गर्ने योजना र सफा रहेको सुनिश्चित गर्ने काम गर्दछन् । उता नारीहरूले यसरी भिजाइएको दालहरूबाट बारा र चामलको पिठो प्रयोग गरी चटामरीजस्ता स्वादिष्ट व्यञ्जनहरू बनाउने गर्छन् । यसरी बनेको परिकार ‘भ्वे’को रूपमासबै मिलेर सेवन गरिन्छ। परिवारजनहरूले नेवारी ‘भ्वे’ अर्थात् ‘भोज’ मा रमाउन जाँड-छ्याङ (चामलको बियर) र अईला (रक्सी) जस्ता परम्परागत तरल पदार्थसँग खुसी बाँड्ने मौका पनि यस चाडले दिने गर्छ । खाना-खाजापछि मुख मिठो पार्न (डेजर्ट)को रूपमा थोरै मात्रामा कुटेको चामलसँग चिनी, मुला र गाँजर मिलाइएको मिश्रणका साथ दहीको सेवन गर्ने गरिन्छ ।

चटामरीको स्वाद अझ अधिक स्वादिष्ट बनाउन अण्डा, वा मासुको किमा आदि त्यसमाथिबाट राखेर पकाइन्छ। यसरी खाइने खानेकुरा स्वादका लागि मात्रै नभएर समयानुकूल रहेकाले मनसुन नजिकिँदै गर्दा शरीरमा विभिन्न किसिमका ब्याक्टेरियासँग लड्न सक्ने क्षमताका लागि पनि खाइन्छ । यस्ता खाने कुरामा पाइने पौष्टिक तत्त्वले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउनुका साथै पाचन प्रणालीलाई समेत सुदृढ राख्न सहयोग गर्दछ ।

बारा र ‘व’ मा कार्बोहाइड्रेट, प्रोटिन, आइरन इत्यादिको मात्रा बढी हुने वैज्ञानिक तथ्य छ । यसमा आधुनिक तरिकाबाट चिज र मासु समावेश गरेको खण्डमा यसले नेवार समुदायमा इटालियन पिज्जाको स्वाद दिने कामसमेत गर्दछ । 

हिन्दू पौराणिक कथाअनुसार यो दिन भगवान शिव र देवी पार्वतीका प्रथम पुत्र भगवान कुमार कार्तिकेयको जन्मदिन पर्ने हुनाले यो दिनको अर्को नाम कुमार षष्ठी रहन गएको हो भन्ने चलन छ । उनै कुमारको सम्मानमा यो पर्व मनाइने हुनाले यो दिनलाई कुमार षष्ठी पनि भनिन्छ । वर्षा बालक कुमारसँगै काठमाडौँ उपत्यकाका बासिन्दाहरूले देवी धर्तीमाताको पनि सिथी नखःमा पूजा गर्ने गर्दछन्, जसले उपत्यकामा हिन्दू र बौद्ध धर्मको लोकप्रियता हुनुअघि नेवाः मानिसहरूले आफ्ना पूर्खा र प्रकृतिलाई कसरी सम्मान गर्थे भनेर देखाउँदछ ।

सिथी नखः मा सरसफाई गरेपछि पानीको सतह स्थीर बनाउन केहीदिन पानीको मुहान बन्द गर्नुपर्ने जनविश्वास छ । पानी सफा गर्दा खनेको इनार, पोखरी, बोरहोलभित्र पसेर सफा गरिन्छ । यसो गर्दा मुनिको फोहोर माटो पानीको सतहमा आउने हुँदा पानीको मुहानमा जमेका वर्षभरिकै फोहोर सफा हुने जनविश्वास छ । सिथी नखः को दिन, नेवार समुदायले देवाली पूजा पूरा गर्नुपर्छ, जसमा पारिवारिक देवता दिगुदेयको पूजा गरिन्छ । नवविवाहित बुहारीलाई घरपरिवारमा स्वागत हुने भएकाले देवाली पूजाको विशेष महत्त्व छ ।

पानीपर्ने बेलामा खेतहरू तयार भइसकेका हुन्छन्, धानका बिरुवा रोपिएका हुन्छन्, जसले गर्दा मानिसहरूले आफ्नो धार्मिक र सांस्कृतिक गतिविधिलाई पुनः शुरू गर्न सक्छन् भने यही चाडको सुरुवातसँगै अन्य चाडहरू पनि लहरै लाम लाग्ने हुँदा नेवारी समुदायमा यो चाडलाई नेवारी नयाँ वर्षको सुरुवातको दिन पनि भन्ने गरिन्छ ।

यसरी हेर्दा, यो चाडले ‘दशैं न तिहार भोज खाने नेवार’ भन्ने उक्तिलाई समेत दह्रो झापड हान्दै दशैं र तिहार मात्रै चाड होइन भन्ने तथ्य स्पष्ट पारेको छ । प्रकृति, वातावरण, स्वास्थ्य, परिवार, समाज र संस्कृतिसँग जोडिने हरेक उत्सवमा उत्तिकै खुशी हुन जानेको नेवाः समुदायको भोज खाने प्रचलनलाई मानव सभ्यताको उत्कृष्ट संस्कारका रूपमा लिन सकिन्छ । 

सिथी नखः पनि प्रकृति, वातावरण, समाज र संस्कृति सबैलाई जोड्न सकेको नेवाः समुदायले परापूर्व कालदेखि मनाउँदै आएको त्यस्तै एउटा चाड हो । आधुनिक बन्ने लहडमा आफ्नो संस्कृतिलाई भुल्ने लहर चल्दै गर्दा सिथी नखः पनि खतरामा देखिएको भने छ । त्यसैले, नेवार समुदायले मात्र नभएर आ–आफ्नो घर वरिपरि रहेको इनार, धारा, जरुवा, कुवा इत्यादि सरसफाई गरी मनाइने यो चाड अवश्यपनि सबैले मनाउँदा पृथ्वीजगतमा प्रकृति र मानवजाति दुवैको भलो नै हुने देखिन्छ ।

‘भ्वे’ले भलो गर्छ भने यसलाई ‘होइ’ गरौँ । थोरै आधुनिक भई टोपलेर बरु ‘हलो’ गरौँ तर, हेला नगरौँ !

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.