पूर्वमुख्यमन्त्री राईको सरकारलाई प्रश्न– ‘जग्गाको टुंगो लाग्यो कि भूमाफियासँग कुरा मिलेको छैन’

विराटनगर । तपाईं सरकारमा आएपछि प्रदेश सरकारको संरचनाको जग कहाँ कहाँ हाल्नु भयो ? तपाईं सरकारमा आएपछि कतिवटा ऐन तपाईंले बनाउनुभयो ? तपाईं सरकारमा आएपछि कोभिड नियन्त्रणमा तपाईंले के गर्नुभयो ?

कतिवटा पूर्वाधार निर्माणको काम तपाईंले अगाडि बढाउनु भयो, राहत, उद्धार र सेवा प्रवाहमा तपाईंले महत्त्वपूर्ण काम तपाईंले के गर्नु भयो ? पूर्ववर्ती सरकारले गरेका काम र उपलब्धिहरूलाई अलिकति पनि लाज नमानी मैले गरेको हो भनेर भन्न मिल्छ ? यो प्रश्न प्रदेश १ का पूर्व मुख्यमन्त्री शेरधन राईको हो ।

उनले प्रदेशसभाको बजेट अधिवेशनको पाँचौँ बैठकको नीति तथा कार्यक्रममाथिको छलफलमा बोल्ने क्रममा सोधिएको प्रश्न हो । कुनै कामै नगरी बसेको सरकारले पूर्ववर्ती सरकारले गरेको कामलाई आफूले गरेको हो भनेर जनतामा झुटो प्रचार गर्ने काम गरेको आरोप लगाए । यस्ता डकुमेन्टमा अलिकति पनि अप्ठेरो नमानी अघिल्ला सरकारले गरेको कामलाई अहिलेको सरकारको गरेको भन्दै राखेकोमा पनि उनले असन्तुष्टि जनाए ।

संस्थागत मुख्यमन्त्रीको रूपमा ३ वर्ष ६ महिना ७ दिनमा र त्यसपछि आफ्नो दलको नेता भीम प्रसाद आचार्यले सरकारको नेतृत्व गरेको अहिलेको सरकारले हेक्का राख्नु पर्ने बताए । ‘सरकारले कुनैपनि कुराको भेउ पाएको देखिँदैन’, उनले भने, ‘अघिल्ला सरकारले गरेका कामलाई झुक्काएर खानको लागि ढाँट्ने काम राम्रो हैन ।’

म अघि बढ्छु भन्ने कार्यक्रम दुर्व्यसनीका विरुद्ध, लागु पद्धार्थको विरुद्धको सचेतना अभियानको लागि नमुना परियोजना सुरु गरिएकोमा प्रदेश सरकारले प्रहरीले डामेर छाडेका व्यक्तिलाई जागिर खुवाउने काम गरेको राईको भनाई छ । ‘यो नमुना परियोजनाको रूपमा प्रदेश १ का २ लाख विद्यार्थी संगठित छन्’, राईको प्रश्न थियो, ‘त्यही कार्यक्रमका विरुद्ध लाग्ने, अहिले प्रहरीले टामेर छाडेका व्यक्तिलाई ल्याएर जागिर खुवाएर भर्ती गरेर राख्ने ? अनि कार्यक्रमलाई हामी स्वयंसेवीकाे के जाति नाममा तपाईंले यो कार्यक्रम तोडमेड गरेर ल्याउने ?’ सगरमाथा टिन्स क्लबमा आबद्ध २ लाख विद्यार्थीलाई सरकारले जवाफ दिनुपर्ने बताए ।

मन्त्रालय फुटाएको महान् उपलब्धि खै ?

७ मन्त्रालयलाई फुटाएर १३ वटा मन्त्रालय बनाएको सरकारले महान् उपलब्धिलाई नीति तथा कार्यक्रमले नसमेटेको भन्दै व्यंग्य गरे । अहिलेका सरकारले कार्यालयहरू हटाउने, कार्यालयहरू सार्ने काम गरेको आरोप लगाउँदै नागरिकसँग जोडिएको मुख्यमन्त्री ग्रामीण सडकलाई बन्द गर्न खोजेको आरोप लगाए । यस अघिका सरकारका बहुबर्षीय आयोजना, खानेपानी र सडकका विषयहरूलाई बेवास्ता गर्दै आफ्ना माननीय, आफ्ना कार्यकर्ता, आफ्ना साथीभाइका लागि योजना छानी छानी प्राथमिकता दिएर स्वार्थ अनुकूल बजेट हाल्ने काम भएको पूर्व मुख्यमन्त्री राईको भनाई छ ।

भू-माफियासँग चलखेल

नीति तथा कार्यक्रमको बुँदा नम्बर ६० मा उल्लेख भएको प्रदेश राजधानीसँग सम्बन्धित प्रदेश केन्द्रित प्रशासनिक संरचना बनाउने भनिएको छ । ‘यो कामका लागि विगतमा कर्मचारीको नेतृत्वमा एउटा कार्यदल जग्गा खोजविन र व्यवस्थापनको लागि बनेको थियो’, राईले सरकारलाई प्रश्न गर्दै भने, ‘तपाईंले त्यो कार्यदल किन खारेज गर्नु भयो अनि मन्त्रीको नेतृत्वमा किन बनाउने भयो रु यसको कारण के हो ?’ राईले जग्गा खोज्ने विषय भूमाफियासँग जोडेर प्रश्न गरेका छन् ।

‘जग्गा खोजविन कसरी भइरहेको छ, जग्गाको टुंगो लाग्यो ? कि भूमाफियासँग कुराकानी मिलेको छैन ?’ राई प्रश्न गर्छन्, ‘धेरै कुरा बाहिर आउँछन् सभामुख महोदय, म सचेत गराउँछु ।’
सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको संयोजकत्वमा संरचना निर्माण तथा जग्गा खोज्ने सरकारले समिति बनाएको थियो । भूमाफियासँग मोलमोलाई भइरहेको भन्ने आरोप पूर्वमुख्यमन्त्री राईले लगाए ।

कर्मचारी नेतृत्वको कार्यदललाई हटाएर सरकारका मन्त्रीले जिम्मेवारी लिएर जग्गा खोजबिन गर्ने विषय गम्भीर विषय भएकोले यो विषय बाहिर बिस्तारै आउने पनि उनले स्पष्ट पारेका छन् । प्रदेश मन्त्रालयहरूको बिजोग रहेको, कर्मचारीको व्यवस्थापन गर्ने कुरा, कर्मचारी प्रोत्साहन, सरकार चलाउने र प्रदेश बनाउने कुरामा नीति वक्तव्यमा कुनै उल्लेख नै नभएको बताए ।

अहिलेको सरकारले कर्मचारी तर्साएको, कर्मचारी आतंकित बनाएको, कर्मचारीलाई दुःख दिएर हैरान बनाएको तथा सरुवाको लागि पैसा जम्मा गर्न भनिएको पनि उनले आरोप लगाए ।

नीति तथा कार्यक्रममाथि छलफलमा प्रदेशसभा सदस्य अम्विका थापा, उत्तमकुमार बस्ने, उषाकला राई, तुलसी न्यौपाने, पुर्णप्रसाद राई याम्फु, बलबहादुर साम्सोहाङ, विमल कार्की, बुद्धिकुमार राजभण्डारी, मोहन कुमार खड्का, यशोदा अधिकारी, राजकुमार ओझा, राम राना, रामचन्द्र लिम्बु, लछुमन तिवारी, लिला सुब्बा, लोकप्रसाद संग्रौला, सञ्जाकुमारी दनुवार, सरिता थापा, साबित्रा जोशी लगायतले भाग लिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *