गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाद्वारा कार्यशाला गोष्ठी

काठमाडौँ । युवा पिँढीलाई लागुऔषधबाट जोगाउन र आगामी आर्थिक वर्षमा स्थानीय तहले बनाउने बजेटमा लागुऔषध नियन्त्रणसम्बन्धी कार्यक्रम राख्न गृह मन्त्रालयको लागुऔषध नियन्त्रण शाखाले आज यहाँ एक कार्यशाला गोष्ठी आयोजना गरेको छ ।

‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रण’सम्बन्धी कार्यशाला गोष्ठीमा यसको प्रयोगका कारण समाज मात्र नभइ घर पनि बिग्रिने भएकाले रोकथाममा सबैले चासो दिनुपर्नेमा जोड दिइयो । करिब १२ वर्षदेखि ३५ वर्षका युवा यस्तो लतमा फस्ने भएकाले विद्यालय तहदेखि नै रोकथाममा विशेष ध्यान दिनुपर्ने र यसका लागि शिक्षकहरूले निगरानी गर्नुपर्ने कार्यक्रमका सहभागीहरूले बताए ।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानूनमन्त्री केदार कार्कीले लागुऔषधले घर, समाज र राष्ट्र नै धरापमा पर्ने स्थिति आउन नदिन सबैले एकजुट भएर रोकथाम एवं नियन्त्रणमा पहल गर्नुपर्ने बताए । मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले लागुऔषधजस्ता घातक वस्तुको प्रयोगको असर प्रयोगकर्ताका साथै अन्य व्यक्तिमा पनि परिरहेको छ बताएका छन् । सीमा क्षेत्रमा यसको कारोबार बढी हुने गरेको र प्रयोगकर्ता पनि यही समाजका व्यक्ति भएकाले प्रयोगकर्तालाई लागु औषधको दलदलबाट निकाल्न सबैले प्रयास गर्नु आवश्यक उनले औंल्याएका छन् ।

प्रहरी अधिकृत, कार्यालय प्रमुख, स्थानीय पालिकाका प्रमुख एवं उपप्रमुखको सहभागिता रहेको सो कार्यक्रममा गृह मन्त्रालयका सहसचिव भीष्मकुमार भुसाल र लागु औषध नियन्त्रण शाखाका अधिकृत गोकर्णप्रसाद उपाध्यायले पनि यसबाट पर्ने असरबारे चर्चा गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *