रुस-युक्रेन युद्धमा दैनिक सय-दुई सय सैनिकलाई वीरगति

काठमाडौँ । युक्रेन र माथि रुसको युद्ध जारी रहेको अवस्थामा दैनिक १ सयदेखि २ सय सैनिकले ज्यान गुमाइरहेको बताइएको छ ।
युक्रेनी राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीका एक वरिष्ठ सल्लाहकारका अनुसार युद्धको अग्रमोर्चामा दैनिक एक सयदेखि दुई सयको बीचमा सैनिकहरूले ज्यान गुमाइरहेका छन् । युक्रेनको पूर्वी डोन्बास क्षेत्रमाथि नियन्त्रण गर्ने प्रयासमा रहेका रुसी सैनिकहरूको निरन्तर बमबारीको युक्रेनी फौजले सामना गरिरहेका छन् । आज बिहीबार युक्रेनी रक्षामन्त्री ओलेक्सी रेज्निकोभले युद्धमा दैनिक १०० जना सैनिकले ज्यान गुमाइरहेको र ५०० जना घाइते भइरहेको बताएका छन् ।
रुसी फौजहरूले पारमाणविक अस्त्रबाहेक लगभग सबै प्रणालीबाट हमला गरिरहेको पोदोलियाकले बताए । युद्धमा युक्रेनतर्फ धेरै क्षति हुनुका कारण दुई पक्षबीच ‘प्रतिरक्षा गर्ने सामर्थ्य समान नहुनु’ भन्दै पश्चिमा देशहरूले थप अस्त्र उपलब्ध गराउनु पर्ने युक्रेनको माग उनले दोहोर्याएका छन् ।
पोदोलियाकले मस्कोसँग शान्तिवार्ता पुनः सुरु गर्न किएभ तयार नभएको उल्लेख गरे । गत फेब्रुवरी २४ तारिखमा सुरु गरेको अतिक्रमणयता कब्जा गरेका सबै भूभाग रुसले फिर्ता गरे मात्रै शान्तिवार्ता पुनः शुरू हुन सक्ने युक्रेनको भनाइ छ ।








