नरग्राम माविको भवन उद्घाटनको विषय विवादित, बहुसंख्यक सदस्यको विरोध

विराटनगर । मोरङको बुढीगगा गाउँपालिकाको नरग्राम माध्यामिक विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्ने विषयमा विवाद शुरु भएको छ ।

भोलि शुक्रबार एक कार्यक्रमको आयोजना गरी विद्यालयको नवनिर्मित भवनको उद्घाटन गर्ने कार्यक्रम तय भएको छ । विद्यालय व्यवस्थापन समितिले निर्णय नै नगरी विद्यालयका प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिका अध्यक्षले नेपाली कांग्रेसका नेतालाई ल्याएर उद्घाटन गर्न लागेको भन्दै व्यवस्थापन समितिका अन्य सदस्यहरूले विरोध जनाएका हुन् ।

शुक्रबार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले माविको सो भवनको उद्घाटन गर्ने तय भएको विद्यालयले जनाएको छ । विद्यालयजस्तो शैक्षिक क्षेत्रलाई राजनीतिकरण गर्न खोजिएको भन्दै विद्यालय व्यवस्थापन समितिका बहुसंख्यक सदस्यहरूले भने आपत्ति जनाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका सदस्यहरू होमनाथ तिमल्सिना, निता ऋषिदेव, रेखाकुमारी पासवान, गिता काफ्ले, जितेन्द्र ऋषिदेव र शिक्षक अभिभावक संघका अध्यक्ष मकर बुढाथोकीले संयुक्त रूपमा व्यवस्थापन समिति र प्रधानाध्यापकलाई कार्यक्रमप्रति आफूहरूको असहमति रहेको जनाएका हुन् ।

नेपाली कांग्रेसका नेताको नाममा शिलालेख नै बनाएर विद्यालयमा राख्न खोजिएपछि त्यसको विरोध गरिएको शिक्षक अभिभावक संघका अध्यक्ष मकर बुढाथोकीले बताए । ‘हामीले गाउँपालिकाको अध्यक्ष, प्रदेशका मन्त्रीहरू वा सार्वजनिक पदमा बसेका जो कोहीलाई पनि ल्याएर भवनको उद्घाटन गर्दा हुन्छ भनेका हौँ’, उनले भने, ‘विद्यालय व्यवस्थापन समितिका अध्यक्षले विद्यालयमा राजनीतिकरण गर्न खोज्नुभयो, कुनै सार्वजनिक पदमा नभएका सांसदसमेत नरहेका व्यक्तिलाई कांग्रेसका नेता भएकै भरमा विद्यालय भवनको उद्घाटन गर्न लगाउँदा विद्यालयमाथि राजनीति भएको देखिन्छ ।’

उनले गुनासो गरे, ‘विद्यालय उद्घाटन कांग्रेसका नेताले गरे भन्नु भन्दापनि पूर्व सांसदले उद्घाटन गरे भनेर शिलालेखमा लेखिएको भए हुन्थ्यो, तर त्यसो पनि गरिएन ।’

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष माधव कोइरालाले विद्यालय भवनको उद्घाटन २७ गते गर्ने भनेर विद्यालय व्यवस्थापन समितिबाट निर्णय गरिएको भएपनि कसलाई ल्याउने भन्ने बारेमा निर्णय नभएको स्वीकार गरे । ‘डा. कोइराला पूर्व सांसद भएको नाताले पनि बोलाउनु पर्ने अवस्था आयो’, उनले भने, ‘उहाँको पालामा नै विद्यालयलाई नमूना बनाउनुपर्छ भन्ने प्रस्ताव गएर विद्यालय नमूना भएको कारण उहाँबाट नै उद्घाटन गराउन लागेका हौँ ।’

एक-दुईजना सदस्यहरूलाई डा. शेखर कोइरालाको नाममा उद्घाटन गर्न लागिएकोमा एलर्जी भएको अध्यक्ष कोइरालाले आरोप लगाएका छन् ।

गाउँपालिकाबाट सहमति लिएर डा. कोइरालाले उद्घाटन गर्ने भनिएपछि सबै कार्यक्रम तय भएको व्यवस्थापन समितिका अध्यक्ष कोइरालाले बताए । उद्घाटन गर्न लागिएको भवनको डा. कोइरालाले नै शिलान्यास गरेका थिए । तात्कालीन शिक्षामन्त्री गोपालमान श्रेष्ठलाई नमुना विद्यालय बनाउनुपर्छ भनेर निर्णय गराउने भूमिकामा नेता कोइरालाको साथ रहेकोले उनले नै भवनको उद्घाटन गर्नुपर्ने तर्क विद्यालय व्यवस्थापन समिति अध्यक्षको छ ।

उद्घाटन गर्न लागिएको विद्यालय भवन ३ तलाको १२ कोठे भवन हो । नयाँ संरचना निर्माण भएको ठाउँमा करिब साढे ३ करोड बढीको लगानी भएको विद्यालय प्रशासनले जनाएको छ ।

विरोध पत्र:No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *