एमाले भन्छ, ‘सरकारले ल्याएको नीति तथा कार्यक्रम कर्मकाण्डी भयो’

विराटनगर । प्रदेश १ मा प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई कर्मकाण्डी मात्र भएको भनेको छ ।

संसदीय दलका नेता भीमप्रसाद आचार्यले नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सरकारले ल्याएको नीति तथा कार्यक्रम आकाश पाताल सबै जोडेर ल्याएको जस्तो देखिएपनि भित्र हेर्दा खोक्रो रहेको बताए ।

‘यो वर्षभित्र सक्नुपर्ने कार्यक्रमको वर्गीकरण र प्राथमिकीकरण गर्ने खालको काम भएन’, उनले भने, ‘यो पटकको नीति तथा कार्यक्रम कर्मकाण्डी पारामा आएछ ।’

उनले नीति तथा कार्यक्रमको कुनै लक्ष्य र कुनै उद्देश्य नभएको भद्रगोल रहेको आरोप लगाए । ‘कृषि, सहकारी, शिक्षा, स्वास्थ्य, पर्यटन, वन, वातावरणका कुराहरू केही उल्लेख भएपनि सन्तुलित विकासको अवधारणाको आधारमा यसले क्षेत्रहरू पत्ता लगाएर महत्त्व दिएको देखिएन’, उनले भने, ‘आधार खडा गर्ने भनेको शिक्षा र स्वास्थ्य हो, त्यस पछिको भौतिक पूर्वाधार, बाटोघाटो, बिजुली खानेपानी लगायतका हुन्, यी विषयहरू महत्त्वका साथ ल्याएको छैन ।’

बहुबर्षीय आयोजना, सडक, पुल, ग्रामीण सडक, अन्य केही महत्त्वपूर्ण विकासका आयोजनाहरू उल्लेख गरिएको भएपनि त्यो कहिले सकिने र कुन सालमा कहाँ पुर्‍याउने भन्ने स्पष्ट नभएको आचार्यले बताए । बहुबर्षीय आयोजनाहरूलाई एउटा निश्चित बिन्दुमा पुर्‍याउने वा सक्ने भनेर नीति तथा कार्यक्रममा आउनु पर्नेमा त्यस्तो नभएको उल्लेख गरे ।

एक पालिका एक उत्पादनको कार्यक्रम प्रभावकारी नहुने भन्दै उनले एउटै पालिका तराई देखि हिमालसँग जोडिएकोले त्यस्ता ठाउँमा आवश्यकताको आधारमा कृषि उत्पादनमा जोड दिनुपर्ने बताए । अनुदानका कार्यक्रमहरू व्यक्ति मोटाउनको ल्याएको जस्तो देखिएको उनको आरोप छ ।

अहिलेको आवश्यकता मल, बिउ र विजनमा नीति तथा कार्यक्रमले बोल्नुपर्नेमा कुनै कुरा नबोलेको उनको तर्क छ। ‘नीति तथा कार्यक्रम सच्याउनुस्, मिलाउनुस्’, उनले भने, ‘हिजो हुँदै आएका कुरालाई नीति तथा कार्यक्रममा लेखिदिएको मात्र देखिन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *