सरकारको नीतिविरुद्ध विराटनगरका व्यापारी सडकमा

विराटनगर । विराटनगरका ठुला तीन व्यावसायिक संस्थाले सरकारको विरुद्ध सडक आन्दोलन थालेको छ। व्यवसायी संस्थाले सुरु गरेको आन्दोलनलाई चारवटा ट्रेड युनियनहरूले साथ दिएका छन् ।

एमएस वायर, स्यानिटरी प्याड र वनस्पति तेललाई बन्द गराउने गरी सरकारको बजेट नीति तथा कार्यक्रम आएको भन्दै यी उद्योगको संरक्षणको माग गर्दै संयुक्त आन्दोलन सुरु भएको हो । उद्योग सञ्चालक, ट्रेड युनियन, श्रमिक सहित आगामी आर्थिक वर्षको बजेटले उद्योगलाई धराशायी बनाउन खोजेको भन्दै प्रदर्शनमा उत्रिएका हुन् ।

बिहीबार बुढीगंगा गाउँपालिकामा पर्ने धरान–विराटनगर सडक खण्डको गोकुवामा उद्योगीले र्‍याली सहित कोणसभा गरेर अवरुद्ध गरेका थिए । हुलास वायर इन्डस्ट्रिजबाट निस्किएको जुलुस स्थानीय औद्योगिक क्षेत्रको परिक्रमा गरी गोकुवा चोकमा कोणसभा गरेको थियो ।

उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ, नेपाल उद्योग परिसंघ प्रदेश नम्बर १ ले बुधवार संयुक्त पत्रकार सम्मेलन गर्दै मागहरू सम्बोधन नगरे सडक अवरोध गर्ने समेत चेतावनी दिएका थिए ।

यी तीन व्यावसायिक संस्थाहरू सहित नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एस समर्थित चार ट्रेड युनियनले संयुक्त आन्दोलनको थालनी गरेका हुन् ।

सरकारको नीतिले उद्योग धराशायी बन्ने खतरा रहेको भन्दै बुधवार नै उद्योगीले ट्रेड युनियनहरूलाई सहयोग गर्न आग्रह गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *