विभिन्न दुर्घटनामा परी १४ जनाको ज्यान गयो

काठमाडौँ । देशभर विभिन्न दुर्घटनामा परेर १४ जनाको ज्यान गएको छ ।

नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षले दिएको जानकारी अनुसार सवारी दुर्घटनामा, लडेर, करेन्ट लागेर, सेफ्टी ट्याङ्कीमा डुबेरलगायत घटनामा परी १४ जनाको ज्यान गएको हो ।

सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

तेह्रथुमको म्याङलुङ नगरपालिका–१ डबलीस्थित सडकमा प्रदेश नम्बर १–०२–००३ त ४९८ नम्बरको ट्याक्टर अनियन्त्रित भई बाटोदेखि करिब १ सय मिटर तल खसेर बुधबार साँझ दुर्घटना हुँदा चालक फेदाप गाउँपालिका–५ ईसिबु बस्ने २६ वर्षीय रबिन खापुङको घट्नास्थलमै मृत्यु भएको छ ।

कैलालीको घोडाघोडी नगरपालिका–२ पान्डेचोक साडेपानीस्थित सडकमा सुदूरपश्चिम प्रदेश ०१–००८ प ६४०७ नम्बरको मोटरसाइकलको ठक्करबाट घोडाघोडी नगरपालिका–२ साडेपानी बस्ने ५५ वर्षीया तारा रावलको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको घोडाघोडी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाँचथरको हिलिहाङ गाउँपालिका–७ सल्लेरीस्थित सडकमा मे.१ ख २४९४ नम्बरको ट्याङ्कर र को.५ प २३३० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाएर खाई बुधबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सुनसरी रामधुनी नगरपालिका–७ बस्ने २६ वर्षीय प्रेम घिसिङको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको समर्पित अस्पताल हुँदै बिएण्डसी अस्पताल झापामा थप उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी उनकी श्रीमती २६ वर्षीया कञ्चन मगरको सोही अस्पतालमा उपचार भइरहेको छ ।

धादिङको धुनिबेशी नगरपालिका–६ चालिसेस्थित सडकमा ना.८ ख ५१७३ नम्बरको ट्रकको ठक्करबाट पैदलयात्री गोरखा गण्डकी गाउँपालिका(५ दरबुङ बस्ने ४४ वर्षीया राम माया बिकको बुधबार राति मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको ट्रमा सेन्टर काठमाडौंमा उपचारको क्रममा मृत्यु भएको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँकेको जानकी गाउँपालिका–६ कोठारपुरस्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट हाल नाम, थर, वतन नखुलेकी करिब ३० वर्षीया महिलाको बिहीबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको भेरी अस्पताल नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार सवारी साधनको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

सेफ्टी ट्याङ्कीभित्र खसेर दुई जनाको मृत्यु
चितवनको भरतपुर महानगरपालिका–१९ तमुटोलस्थित सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उक्त ट्याङ्कीभित्र खसेर २ जनाको मृत्यु भएको छ । कपिलवस्तु शिवराज नगरपालिका–९ बस्ने २३ वर्षीय राम चौधरी र २४ वर्षीय छतिराम चौधरीको उक्त घटनामा बुधबार साँझ मृत्यु भएको प्रहरीले जनाएको छ ।

सेफ्टी ट्याङ्की सफा गर्ने क्रममा उनीहरू उक्त ट्याङ्कीभित्र खसेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय चितवन र ईलाका प्रहरी कार्यालय फुलबारीबाट खटिएको प्रहरीले उनीहरूलाई मृत अवस्थामा फेला पारेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

लडेर मृत्यु
कास्कीको पोखरा महानगरपालिका–१७ फिस्टेल मार्ग बस्ने ६५ वर्षीय रेशमलाल शर्माको लडेर मृत्यु भएको छ । आफ्नो एउटा घरबाट अर्को सटिएको घरमा जानेक्रममा लडेर भुईमा खस्दा बुधबार साँझ मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको पश्चिम क्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दोलखाको बिगु गाउँपालिका–६ आलम्पु बस्ने ७२ वर्षीय सुखजित थामीको भीरबाट लडेर बुधबार बिहान मृत्यु भएको छ । घर नजिकैको जंगलमा दाउरा लिन गएका उनी अस्करडाँडाको भीरबाट लडेको बताइएको छ ।

करेन्ट लागेर मृत्यु
सर्लाहीको ईश्वरपुर नगरपालिका–९ बस्ने ४० वर्षीय मनोज कुमार चौधरीको करेन्ट लागेर बुधबार साँझ मृत्यु भएको छ । सोही नगरपालिका–७ स्थित स्कट एण्ड स्कट नेपाल प्रालि फ्याक्ट्रीमा लेवर काम गर्ने क्रममा मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएका उनको बयलबासस्थित अमृत हेल्थ केयरमा उपचारको क्रममा मृत्यु भएको हो ।

डुबेर मृत्यु
महोत्तरीको जलेश्वर नगरपालिका–३ खैराघाँउ बस्ने शिव किशोर सदाकी छोरी ६ वर्षीया आँचल कुमारी सदाको सोही ठाउँस्थित छिमेकीको पोखरीमा माछा मार्ने क्रममा डुबेर बुधबार साँझ मृत्यु भएको छ ।

मृत अवस्थामा फेला
काठमाडौँ महानगरपालिका–९ सिनामंगल भत्केको पुलस्थित कृष्ण मन्दिर परिसरमा हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् ।

डोटीको शिखर नगरपालिका–७ बिष्टै गाउँ बस्ने १५ वर्षीय बिक्रम रावल सोही नगरपालिका शिखर लेक ताल भन्ने स्थानमा बुधबार मृत अवस्थामा फेला परेका छन् । यही जेठ ८ गते घरबाट हिँडी बेपत्ता भएका उनको खोजी गर्ने क्रममा उक्त स्थानमा शव फेला परेको हो ।

मकवानपुर, हेटौँडा उपमहानगरपालिका–११ थानाभर्‍याङ सागरपथ बस्ने ६५ वर्षीय लक्ष्मण गोले घर नजिकै रहेको कुलोमा बुधबार मृत अवस्थामा फेला परेका प्रहरीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *