बेलायतमा नेपालीले मनाए महारानीको प्लाटिनम जुब्ली

काठमाडौँ । बेलायती महारानी एलिजावेथले राज्यारोहण गरेको ७० वर्ष पुगेको उपलक्ष्यमा बेलायत ‘पार्टीमय’ बनिरहेका बेला त्यहाँ रहेका नेपाली समुदायले पनि प्लाटिनम जुब्ली पृथक तरिकाले मनाएका छन् ।
बेलायतमा बस्ने नेपालीले विशेष समारोहको आयोजना गर्दै नेपाली शैलीमा महारानीको प्लाटिनम जुब्ली मनाएका हुन् । बेलायत मिडल्याण्डको सिर्जनशील नेपाली समाजले आयोजना गरेको समारोहमा स्थानीय बेलायती सांसद, मेयरसहित सयौंको संख्यामा बेलायतभरका नेपाली समाजसेवी तथा आम नेपालीहरु कार्यक्रममा सरिक भएर नेपाली शैलीमा ‘पार्टी’ मनाए ।
सोमबार साँझ लेष्टरको रामगर्हिया कम्युनिटी सेन्टरमा मिडल्यान्डस्थित सिर्जनशील नेपाली समाजले आयोजित प्लाटिनम जुब्ली समारोह नेपाली शैलीमा पञ्चेबाजामा मनाईको हो । उक्त समारोहमा बेलायती सांसद, मेयरसहित सयौंको संख्यामा बेलायतभरका नेपाली समाजसेवी तथा आम नेपालीहरुको सहभागिता रहेको थियो ।
समारोहमा नेपाली भेषभुषा, सांस्कृतिक कार्यक्रम, गीत संगीत र नाचगानलाई लिएर बेलायती जनप्रतिनिधि दंग देखिन्थे । सो अवसरमा महारानीको दीर्घजीवनको कामना गर्दै बेलायतका नेपालीले रानीलाई बधाई दिए ।
प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपाली शैलीमा आयोजित कार्यक्रमले बेलायत तथा नेपालबीचको दुई देशको सम्बन्धको ऐतिहासिक विशिष्टता झल्काएको जनाए ।
कार्यक्रममा एनआरएनए आइसीसीका अध्यक्ष कुल आचार्य, उपमहासचिव रामशरण सिम्खडा र युरोप उपसंयोजक दयानिधि सापकोटा, बीबीसी मास्टर सेफ सन्तोष साह, एनआरएनए यूके उपाध्यक्ष नारायण कँडेल, काउन्सिलर जीत रानाभाट, साझा नेपाली समाज यूकेका कार्यवाहक अध्यक्ष कृष्ण खरेल, सिर्जनशील लेष्टर नेपालका संस्थापक अध्यक्ष राजु कंडेललगायत वक्ताले मन्तव्य राखेका थिए ।
कार्यक्रमका सभापति एवं आयोजक सिर्जनशिल लेष्टर नेपालका अध्यक्ष नारायण फुँयालले कार्यक्रममा सहभागी विशिष्ट अतिथि तथा बेलायतभरबाट उपस्थित नेपाली समुदायका सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा लेष्टर र मिडल्याण्डका पिटरबरो, नटिङहम, बर्मिङहम, ग्रान्थम, वुल्भरह्याप्टन, यार्डली, डर्बी साथै लन्डन, अल्डरसट, रेडिङ, नर्दन आयरल्यान्ड र स्कटल्याण्डबाट समेत उल्लेख्य नेपाली तथा संघसंस्थाका प्रतिनिधि सहभागी भएका थिए ।
महासचिव पुण्डरी अर्यालले सञ्चालन गरेको कार्यक्रममा स्वागत मन्तव्य दिँदै सचिव शिव पराजुलीले संस्थाको परिचय सहित ‘प्लाटिनम जुब्ली’ कार्यक्रमको सोचबारे जानकारी गराएका थिए । कार्यक्रममा नेपालबाट आएका आधा दर्जन बढी नेपाली कलाकारले नेपाली लोक सांस्कृतिक प्रस्तुती दिएका थिए ।








