दरबारमार्गको प्लाटिनम डिस्कोमा झडपः एक युवक घाइते, प्रहरी अनुसन्धान शुरू

काठमाडौँ । दरबारमार्गस्थित प्लाटिनम डिस्कोमा एक युवकमाथि ‘काभ्रेली समूह’ले आक्रमण गरेको छ ।

आज बिहीबार बिहान साढे ३ बजेतिर झडप हुँदा बालुवाटार बस्ने प्रतिष भास्कर सिंह घाइते भएका हुन् । आक्रमणकारी समूहविरुद्ध पीडित सिंहको परिवारले प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गराएका छन् । आक्रमणकारी गिरोहमा काभ्रेको नमोबुद्ध नगरपालिका घर भएका सञ्जय लामा, कुलध्वज लामा उर्फ कुले र डलर भनेर चिनिने डलर लामा लगायत संलग्न रहेको बताइएको छ । ६–७ जनाको गिरोहले हमला गर्दा सिंहको टाउकोमा चोट लागेको छ । उनको टाउकोमा ७ वटा टाँका लगाइएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीका अनुसार घटनाबारे प्रहरी वृत्त दरबारमार्गमा जाहेरी दर्ता गरी थप अनुसन्धान भइरहेको छ । उनले भने,  ‘पीडितलाई न्याय र पीडकलाई सजाय दिलाउने कार्यमा प्रहरी कटिबद्ध छ । गुण्डालाई टाउको उठाउन दिँदैनौँ ।’ जिल्ला प्रहरी परिसर काठमाडौँसँगै उपत्यका अपराध अनुसन्धान कार्यालयले समेत घटनाबारे अनुसन्धान थालेको छ ।

घाइते सिंहको आक्रमणमा प्लाटिनम डिस्कोकै सञ्चालक सञ्जय लामा पनि संलग्न रहेको बताइएको छ । कुमार घैंटेको इन्काउन्टरपछि काठमाडौँमा बन्द भएको गुण्डागर्दीमा संलग्न समूहको ग्याङ वार पछिल्लो समय पुनः बढ्न थालेको सुरक्षा अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *