पब्जी खेल्न नपाएपछि आमाको हत्या, घरमा २ दिन लुकाए शव

एजेन्सी । अनलाइन गेम पब्जीको लतको सिकार भएका एक १६ वर्षका बालकले आफ्नो आमाको गोली हानी हत्या गरेका छन् । भारतको लखनउस्थित यमुनापुरको एक कोलोनीमा यो घटना भएको लखनउ पिजीआई प्रहरी चौकीका डीसीपी कासिम आबिदीले बताएका हुन् ।
लखनउस्थित यमुनापुर कोलोनीमा हत्या भएकी महिला आफ्ना २ सन्तानसँग बस्दै आएकी थिइन् । उनको श्रीमान् जूनियर कमीसन्ड अफिसरको पोस्टमा पश्चिम बङ्गालमा काम गरिरहेका छन् ।
प्रहरीकाअनुसार १६ वर्षको बालकले आफ्नी आमाले पब्जी खेल्न नदिएको भन्दै शनिवार बुबाको लाइसेन्सले घरमा रहेको गोली चलाएर आमाको हत्या गरेको र सोमवारसम्म शवघरमा लुकाएको स्वीकार गरेका छन् ।
प्रहरीले प्रयोग गरिएको बन्दुक बरामद गरेको छ । महिलाको शव पोस्टमार्टमको लागि पठाएर बच्चालाई प्रहरीले हिरासतमा राखेको छ । समाचार एजेन्सी पीटीआइको अनुसार नाबालिग बच्चाले हत्यापछि शवलाई एक कोठामा बन्द गरेका थिए । उनले आमाको हत्या गर्दा उनकी ९ वर्षकी बैनी उनीसँगै थिइन् ।
नाबालिग बच्चाले बहिनीलाई यो कुरा अरूलाई भनेमा राम्रो हुँदैन भनेर धम्की दिएको समेत स्वीकार गरेका छन् । बच्चाले शव सडेर गन्ध नआओस् भनेर रुम फ्रेसर स्प्रे प्रयोग गरेको समेत बताएका छन् । मंगलवार शवबाट गन्ध आउन थालेपछि बालकले फोन गरेर आफ्नो बुबालाई आमाको हत्याबारे बताएका थिए ।
तर उनले आफ्नो घरमा आएका इलेक्ट्रिसियनले मारेको कथा बनाएका थिए । पछि प्रहरीले अनुसन्धान गर्ने क्रममा बालकले आफैले हत्या गरेको स्विकारेका थिए । -बीबीसी








