नेपाली सेना र युनिलिभरको सहकार्यमा कञ्चनजङ्घाबाट १५ टन फोहोर संकलन

काठमाडौँ । नेपाली सेना र युनिलिभरको सहकार्यमा कञ्चनजङ्घा हिमालबाट १५ टन फोहोर संकलन गरिएको छ । कञ्चनजङ्घाको सफाइमा ध्यान केन्द्रित गर्दै टोलीले आफ्नो अभियान २०७९ वैशाख २ गतेबाट सुरु गरी २०७९ जेठ १६ गते सम्पन्न गरेको थियो । टोलीले सफलतापूर्वक ३.०२ टन जैविक र १२.३५ टन अजैविक फोहोर संकलन गरेको कम्पनीले जनाएको छ । ४५ दिने अभियानको क्रममा कञ्चनजङ्घा हिमालबाट जम्मा १५.३७ टन फोहोर संकलन भएको थियो ।

सन् २०४० सम्म हालको अनुपातमा दोब्बर मात्रामा प्लास्टिक उत्पादन हुनेहुँदा प्लास्टिकजन्य प्रदूषण संकट अझ बढ्ने अनुमान गरिएको छ । यसको समाधान भनेको राष्ट्रले प्लास्टिकको प्रयोग कसरी गर्छन्, पुनः प्रयोग गर्ने र अन्ततः प्लास्टिकको प्रयोगलाई कम गर्ने तौरतरिकामा परिवर्तन गर्नु हो । यस अभियानको क्रममा संकलित प्लास्टिकको पुनः प्रयोग सुनिश्चित गर्न युनिलिभरले रिसाइक्लिङ साझेदारको रूपमा अभ्नी भेन्चर प्रालिसँग पनि समन्वय गरेको जनाएको छ ।

मौसममा आएको परिवर्तनका कारण झेल्नुपरेका विभिन्न चुनौतीको सामना गर्दै टीम कञ्चनजङ्घाले फोहोर संकलनमा तीव्रता दिएर लक्षित फोहोर लक्षित समयअघि नै संकलन गरेको थियो । टोलीले लक्ष्यको १५० प्रतिशतभन्दा बढी फोहोर संकलन गर्न सक्षम भएको जनाएको छ ।

नेपालमा प्रत्येक वर्ष करिब १ लाख ७५ हजार पर्यटक हिमाल पदयात्रा र आरोहरणका लागि नेपाल आउने गर्छन् । दुर्भाग्यवश, उनीहरूले हिमालमै फोहोर छोडेर फर्किने हुनाले हिमाली क्षेत्रमा फोहर व्यवस्थापनको ठूलो समस्या सिर्जना भएको छ । फोहरमुक्त विश्वको लागि चक्रिय आर्थिक प्रणालीको दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको र यसैअनुसार युनिलिभरले ‘सफा हिमाल अभियान – २०२२’ मा नेपाली सेनासँग हातेमालो गरेको जनाएको छ ।

कम्पनीका अनुसार यो पहल युनिलिभरको ब्रान्ड सर्फ एक्सेलबाट प्रेरित छ । उक्त ब्राण्डले ‘फोहर राम्रो छ’ को नारालाई सार्थक तुल्याउँछ । पेशागत पर्वतारोही र नेपाली सेना सदस्यहरु सम्मिलित माउन्टेन एक्सपिडिसन टोलीले हिमाल सफा गर्न आफ्नो कपडाहरु फोहर हुन दिएका थिए । युनिलिभर इन्टरनेसनलले यस प्रयासलाई सहयोग गर्नका लागि साझेदारी गरेको हो ।

हिमालहरूलाई आउँदो पुस्तासम्मका लागि सुन्दर र आकर्षक बनाइराख्न युनिलिभरले यो भूमिका निर्वाह गरेको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *