प्रदेश सरकारको पर्यटन नीति : बराह क्षेत्रमा झोलुङ्गे पुल निर्माण गर्ने (पूर्णपाठ)

विराटनगर । पर्यटनको विकास गर्न प्रदेश १ को प्रमुख पर्यटकीय क्षेत्रको ब्रण्डिङ, बजारीकरण गर्न स्थानीय तह, पर्यटनसँग सम्बद्ध संघ संस्था, निजी क्षेत्रसँग आपसी सहकार्य गरिने सरकारको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । प्रदेश प्रमुख परशुराम खापुङले प्रस्तुत गरेको नीति तथा कार्यक्रमले प्रदेशको पर्यटनलाई पर्यापर्यटनसँग जोडेर लग्ने भनिएको छ ।

आन्तरिक तथा बाह्य पर्यटन क्षेत्रको प्रवर्द्धन गर्न प्रादेशिक पर्यटन गुरुयोजना बनाई कार्र्यान्वायनमा लग्ने भनिएको छ । पर्यटन उद्यमशीलताको विकास गर्न निजी क्षेत्रको सहकार्यमा अन्तर्राष्ट्रिय स्तरको तालिम सञ्चालन गरिने ।

हिल स्टेसनको पूर्वाधारको विकासमा निजी क्षेत्रलाई प्रोत्साहन, लामो तथा छोटा प्याकेज सञ्चालन, सेवा प्रवाहलाई सरल र सहज बनाइने, पर्यापर्यटनको विकास, कृषि पर्यटनको विकास गरी आयआर्जन र रोजगारीको अवसर सिर्जना गर्ने भनिएको छ ।

मुन्धुम पदमार्गको बाँकी काम सम्पन्न गर्ने तथा भाषा साहित्य, कला र संस्कृतिको संरक्षण र प्रबर्द्धनकालागि प्रादेशिक संस्कृति नीति तर्जुमा गरी कार्यान्वयनमा लगिने सरकारले नीति तथा कार्यक्रममा उल्लेख गरेको छ ।

‘लोपोन्मुख एवम् सीमान्तकृत समुदाय तथा किराँत, लिम्बु, धिमाल, थारु, कोच लगायतको सभ्यता र संस्कृतिको अध्ययन अनुसन्धान गरी पर्यटकीय सभ्यताको रूपमा विकास गरिने छ, नीति तथा कार्यक्रममा भनिएको, प्रदेश १ भित्र रहेका विभिन्न जातजातिको पहिचानको रूपमा रहेका ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि धनकुटामा रहेको प्रादेशिक संग्रहालयलाई बहुसांस्कृतिक संग्रहालयको रूपमा विकास गरिनेछ ।’

प्रदेशको सीमा नाका तथा विमानस्थलहरूमा प्रदेशको पर्यटकीय महत्त्व झल्किने प्रचार सामाग्री र डिजिटल डिस्प्ले राखी सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचार प्रसार गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ । गढी, थुम, किल्ला र मुन्धुम स्थलहरूको संरक्षण र संवर्द्धन गरी पर्यटकीय स्थलको रूपमा विकास गरिने तथा समाधि र कब्रस्तानलाई संरक्षण गरिने भनिएको छ ।

किराँत संस्कृतिसँग जोडिएको खुवालुङको संरक्षण र प्रवर्द्धन गरिने तथा बराह क्षेत्रको पर्यटन विकासमा सहयोग पुग्नेगरि आकर्षक झोलुङ्गे पुल निर्माण गर्ने सरकारको नीति तथा कार्यक्रममा भनिएको छ ।

संघ, प्रदेश र स्थानीय तहको समन्वयमा विराटनगर विमानस्थलको विस्तार र स्तरोन्नतिको कार्य अघि बढाउने, विराटनगरबाट अन्तर प्रदेश र प्रदेश भित्रका पहाडी जिल्लाका विमानस्थलमा उडान तथा पर्वतीय उडानमा सहयोग र सहजीकरण गरिने पनि सरकारको नीति तथा कार्यक्रममा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 3 =