एआईजीको जिम्मेवारी हेरफेर, उपत्यकामा धानुक, मानव स्राेतमा पूजा

काठमाडाैँ । सरकारले अतिरिक्त महानिरीक्षक (एआईजी) को जिम्मेवारी हेरफेर गरेको छ । बुधबार ५ जना एआईजीले फूली लगाएसँगै यसअघिका दुई एआईजीको जिम्मेवारी हेरफेर गरिएको हो ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरी प्रमुखमा रवीन्द्र धानुकलाई सरुवा गरिएको छ । उनी यसअघि प्रशासन विभागमा कार्यरत थिए । उपत्यका प्रमुख एआईजीका लागि आकर्षक स्थान मानिन्छ । कार्य विभागमा कार्यरत एआईजी सहकुल थापालाई भने सरुवा गरिएको छैन । उनी उपत्यका प्रमुखका आकांक्षी थिए ।

सरकारविरुद्ध मुद्दा लडिरहेका विश्वराज पोखरेललाई पनि मानव स्राेत विकास विभागबाट सरुवा गरिएको छ । उनी प्रदेश समन्वय विभागमा पुगेका छन् । एआईजी बसन्तकुमार पन्त अनिवार्य अवकाशमा गएपछि यहाँकाे पद रिक्त थियो ।

सरकारसँग असन्तुष्ट पोखरेल वैशाख १९ गतेदेखि बिदामा छन् । बुधबार उनको बिदा सकिएको भएपनि कार्यालयमा हाजिर भएका छैनन् ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को प्रमुखमा उत्तमराज सुवेदीको पदस्थापन भएको छ । धिरजप्रताप सिंह एआईजी भएसँगै यहाँ एआईजी रिक्त थियो । सुवेदी डीआईजी हुँदा उपत्यका प्रहरी कार्यालयमा कार्यरत थिए ।

प्रशासन विभागको जिम्मेवारी अरुणकुमार बिसीले पाएका छन् । धानुकको सरुवासँगै यहाँ रिक्त भएको हो । बिसी प्रदेश १ को प्रहरी प्रमुख थिए । एआईजी भएसँगै उनको यो विभागमा पदस्थापन भएको हो ।

अपराध अनुसन्धान विभागको प्रमुखमा दिवेश लोहनी पुगेका छन् । प्रधुम्न कार्कीको अवकाससँगै यो विभाग रिक्त भएको थियो । लोहनी अनुसन्धान र कमाण्डमा अब्बल प्रहरी हुन् । तर ३३ किलो सुन प्रकरणमा मुछिएपछि उनी पछि परेका थिए । पछि अदालतबाट सफाइ पाएसँगै विशिष्ट श्रेणीमा पुग्ने बाटो खुल्ला भएको थियो । डीआईजी हुँदा लोहनी गण्डकी प्रदेश प्रमुख थिए ।

मुकुन्दराज आचार्य राष्ट्रिय प्रहरी प्रतिष्ठानमा पदस्थापन भएका छन् । निरज शाहीको अवकाशसँगै प्रतिष्ठानमा एआईजी रिक्त भएको थियो ।

एआईजी पूजा सिंहले मानव स्राेत विकास विभागको जिम्मेवारी पाएकी छन् । पूजा नेपाल प्रहरीको जनपदतर्फकी पहिलो महिला एआईजी हुन् । यसअघि उनी बागमती प्रदेश प्रहरी प्रमुख थिइन् ।

सरकारले विश्वराज पोखरेललाई सरुवा गरेर सिंहलाई महत्वपुर्ण जिम्मेवारी दिएको हो । यो विभाग प्रहरीको सरुवा बढुवामा महत्वपूर्ण मानिन्छ । गृहमन्त्रीसँग निकट सिंहलाई प्राविधिकतर्फको दरबन्दी बदलेर एकल डीआईजी बढुवा गरिएको थियो ।

बुधबार बढुवा भएका एआईजीलाई दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । यससँगै उनीहरुले नयाँ जिम्मेवारी सम्हाल्नेछन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − three =