संसद्मा मन्त्रालयगत बजेटमाथि छलफल, सम्बन्धित मन्त्री नै अनुपस्थित

काठमाडाैँ । संसद्मा ३ दिनयता मन्त्रालयगत बजेटमाथि छलफल चलिरहेकाे छ । तर, सम्बन्धित मन्त्रालय सम्हालिरहेका मन्त्रीहरू भने अनुपस्थित भइरहेका छन् । यसपछि सांसदहरूले प्रश्न उठाएका छन् । नेकपा एमालेकी सांसद विमला विकले विनियोजन विधेयकमाथिको छलफलमा सरकारले चरम् लापरबाही गरेको भन्दै प्रश्न उठाइन् । ‘सभामुखज्यू आउनुभन्दा ५ मिनेट घण्टी बज्नुपर्ने आज झण्डै २५ मिनेट घण्टी बज्यो । घडी बिग्रियो कि भन्ने पनि लाग्यो । यसो बुझ्दा सम्बन्धित मन्त्रीज्यूहरू आउनुभएन रहेछ । यस्तै हाे र संसद्काे गरिमा ?,’ उनले भनिन् ।
बुधबार बिहान ११ बजे छलफल शुरू हुने भनिएकाे थियाे । तर बैठक ढिलाेगरी शुरू भयाे । संसद् सचिवालयकाअनुसार सम्बन्धित मन्त्रीहरूलाई कुर्दा बैठक पनि ढिलाेगरी शुरू भएकाे हाे । सांसद विकले थपिन्, ‘मैले कृषिमन्त्री चिनेको छु तर यहाँ देख्दिनँ । उद्योगमन्त्रीलाई पनि चिन्छु तर, देख्दिनँ । संघीय मामिला मन्त्रीलाई पनि चिन्छु तर, देख्दिनँ । सूचना तथा सञ्चारमन्त्रीलाई पनि चिन्छु तर, देख्दिनँ । आफ्नो मन्त्रालयको बारेमा छलफल भइरहँदा, सांसदहरूले मन्त्रालयको बजेटको बारेमा छलफल गरिरहँदा मन्त्रीहरू आउनु पर्दैन र?,’ उनले भनिन् ।
एमालेकै अर्का सांसद कृष्णभक्त पोखरेलले पनि साेही प्रश्न दाेहाेर्याए । ‘११ बजेको बैठकमा २६ मिनेटसम्म उपस्थित नहुने, घण्टी बजेको बज्यै गर्नुपर्ने परिस्थिति निर्माण गर्नुपर्ने मन्त्रीहरूलाई संसद्को गरिमा घटाउने काम नगर्न निर्देशन गर्न अनुरोध गर्छु,’ उनले भनेका छन् ।
आजकाे बैठकमा कृषि मन्त्रालय, उद्योग मन्त्रालय, सामान्य प्रशासन मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयकाे मन्त्रालयगत बजेटमाथि छलफल भइरहेकाे छ । यसपछि सम्बन्धित मन्त्रीहरू अनुपस्थित भएपछि सांसदहरूले प्रश्न उठाएका हुन् ।








