मण्डला थिएटरमा ‘चोरको स्वर’ (तस्बिरहरू)

लिम्बू समुदायको विवाह संस्कार झल्काउने ‘चोरको स्वर’ थापागाउँस्थित मण्डला नाटक घरमा मञ्चन भइरहेको छ । आर्टमाण्डु नेपाल प्रालिले प्रस्तुत गरेको नाटकको कथा नवीन चौहानले तयार पारेका हुन् ।

अनिल सुब्बा र अन्वेषण राईले निर्देशन गरेको नाटकमा लिम्बु समुदायमा प्रचलित भागी विवाह गर्ने परम्परालाई जस्ताको त्यस्तै उतारेर देखाइएको छ ।

केटाले केटी भगाइसकेपछि ‘हजुरहरूको छोरी खुसीसाथ राखेको छ’ भनी केटा पक्षका भद्र भलाद्मीहरू विशेष रीतसहित जानकारी दिन आउने सांस्कृतिक प्रचलनलाई ‘चोरको स्वर’मा जीवन्तरुपमा प्रस्तुत गरिएको छ ।

माइती पक्षले रीत अर्थात् चोरको स्वर स्वीकार गरिसकेपछि लिम्बू संस्कार र रीतिरिवाजअनुसार विवाहको प्रसङ्ग अघि बढ्छ । उत्कृष्ट निर्देशकीय कला र कलाकारहरूको अभिनयले नाटकलाई जीवन्त बनाएको छ ।

नाटकमा अनिल सुब्बा, रुपेश लामा, कवि राई, लक्ष्मी योङ्हाङ, इँगिहोपो कोइँच सुनुवार, संगीता थापा मगर, वेदना राई, सुरज तमू, प्रतिना राई, रमिता राई, प्रयास बान्तवा राई, रेश्मा लिम्बू, सीता राई, नर्सिस लिङ्देन, दिवस पयाङ्गू, उदय लिम्बू, प्रवीन मगर, नुशा लिङ्देन, सुनिल तामाङलगायतका कलाकारहरूले  अभिनय गरेका छन् ।

यही जेठ २० गतेदेखि मञ्चन भएको नाटक हरेक सोमबार बाहेक असार १५ गतेसम्म देखाइने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *