‘पर्यावरणलाई प्रेमलाईझैँ सबैले महसुस गर्नुपर्छ’

लन्डन । इको साहित्यलाई प्रवर्द्धन गर्दै आएकाे विश्व नेपाली साहित्य महासंघ, दक्षिण यूकेले यस वर्ष पनि वातावरण साहित्य गोष्ठी सम्पन्न गरेकाे छ । विश्व वातावरण दिवसका अवसर पारेर आइतबार अर्थात् जून ५ तारिखमा महासंघले ७औं वातावरण साहित्य गोष्ठी कार्यक्रम सम्पन्न गरेकाे हाे । कार्यक्रम महासंघका अध्यक्ष विजय हितानकाे अध्यक्षतामा सम्पन्न भएकाे हाे ।

सन् २०१६ देखि यूकेमा नियमितरूपमा हुँदै आएको वातावरण गोष्ठीलाई निरन्तरता दिँदै यस वर्ष पनि इको साहित्यउपर चर्चा परिचर्चासहित पर्यायवरणीय सिर्जना वाचन कार्यक्रम राखिएको थियो । ‘इको साहित्यलाई थप व्यापक बनाउन हामीले वातावरण साहित्य गोष्ठी गर्दै आइरहेका छौँ । यस वर्ष ७औं संस्करण भर्चुअलरूपमा सम्पन्न गर्‍याैँ । पर्यावरण साहित्यउपर परिचर्चा गरियो । त्यस्तै, बेलायत, नेपाल, भारत र अन्य मुलुकबाट जम्मा भएका साहित्यकारहरूले इको सिर्जना सुनाए,’ कार्यक्रमका संयाेजकसमेत रहेका हितानले भनेका छन् ।

कवि एवम् सञ्चारकर्मी विमला तुम्खेवालाई प्रमुख अतिथिका रूपमा गोष्ठीमा निम्त्याइएको थियो । तुम्खेवा दर्जनभन्दा बढी राष्ट्रिय पुरस्कारले सम्मानले पुरस्कृत कवि हुन् भने सञ्चारिका समूह नेपालकी अध्यक्षसमेत हुन् । उनले भनेकी थिइन्— ‘जसरी प्रेमलाई यो गोलार्द्ध र अर्को गोलार्द्धमा बसेका मानिसले समानरूपमा महसुस गर्छन्, त्यसरी नै वातावरणीय विनाशले ल्याउने पीडालाई पनि महसुस गर्नुपर्छ । सबै मानिसहरूले यसलाई बराबरीरूपमा बुझ्नुपर्छ । यसाे भयाे भने मात्रै हामीले भनेकाे वातावरण/वर्यावरण पाउँछाैँ । पीडाबाेध हुनुअघि नै पर्यावरण संरक्षणमा केही गर्नपर्ने देखिन्छ ।’

त्यस्तै, पर्यावरण र नारीकेन्द्रित समालोचना पुस्तकका लेखक डा. गीता त्रिपाठीलाई विशेष अतिथि र पर्यावरण साहित्यमा विद्यावारिधि तहमा अध्ययन गर्दै गरेका हरिप्रसाद काफ्लेलाई वक्ताका रूपमा निम्त्याइएको थियो ।

गोष्ठीमा महासंघले तयार पारेको ८ वटा इको गीतहरूको गीति संग्रह सार्वजनिकीकरण गरिएको यसका संयोजक साथै उपाध्यक्ष थिर थापाले जानकारी दिए । त्यसैगरी, गत वर्षको जून ५ र ६ मा आयोजित दुई दिने ७औं वातावरण साहित्य गोष्ठीमा सहभागी सर्जकहरूमध्ये उत्कृष्ट ठहरिएका दुई जनालाई वातावरण साहित्य पुरस्कार प्रदान गरियो । इको मुक्तक वाचनमा काठमाडौँकी सीता भण्डारी कणेल र संखुवासभा घर भई जापानमा रहेकी सयपत्री थुलुङ उत्कृष्ट मुक्तककार घोषित भएकी थिइन् । उनीहरूलाई जनही १० हजार रूपैयाँ र प्रमाणपत्रसमेत प्रदान गरियो । गत वर्ष करिब छ दर्जन बढी सर्जकहरूले इको सिर्जना वाचन गरेका थिए ।

साेही दिनमा विश्व नेपाली साहित्य महासंघ दक्षिण शाखाको सहकार्यमा नेपाल-भारतमा तीन छुट्टाछुट्टै पर्यावरणीय गोष्ठी सम्पन्न भएका छन् । पाठक मञ्च बुटवलले आयोजना गरेको ‘वातावरण संरक्षणमा स्थानीय चुनौती विषयको निबन्ध प्रतियोगिताको नतिजाअनुसार निम्न प्रतियोगिहरू उत्कृष्ट ५ मा पर्न सफल भएकाेमा पाठक मञ्च बुटवलले जनाएको छ ।

उत्कृष्ट पाँचैजनालाई विश्व वातावरणको दिन बुटवलमा जनही २ हजार र प्रमाणपत्र प्रदान गरिएकाे थियाे । त्यसैगरी पृथ्वीनारायण क्याम्पसमा पोखरामा पनि कानून विषय अध्ययनरत विद्यार्थीहरूले ‘पर्यावरणमैत्री शिक्षा आजको आवश्यकता’ विषयमा वक्तृत्वकला प्रतियोगिता राखेर विश्व वातावरण दिवस मनाएका छन् । यसको संयोजन गरेका प्राध्यापक दीपक पराजुलीले विद्यार्थीहरूकाे उत्साहजनक सहभागिता रहेको बताए ।

त्यसैगरी उता भारतको गुवाहटी, असाममा पनि पर्यावरणीय कविता प्रतियोगिता आयोजना गरिएकाे थियाे । संयोजक डा. देवेन सापकोटाकाअुनसार प्रतियोगितामा ६५ वटा इको कविता प्राप्त थिए । यसको आयोजना देउराली साहित्य सामाजिक मञ्च गुवाहटी र इन्द्रेणी असामले गरेका थिए ।

सन् १९७४ बाट मनाउन थालिएको विश्व वातावरण दिवस प्रत्येक वर्ष जून ५ मा मनाइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *