काठमाडाैँमा बालेनकाे पहिलाे प्रतिबद्धता कार्यान्वयन, सञ्चालनमा आयाे कल सेन्टर

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा साेमवारदेखि कल सेन्टर (गुनासो व्यवस्थापन तथा सोधपुछ केन्द्र) सञ्चालनमा आएको छ ।
नवनिर्वाचित जनप्रतिनिधिले पदबहाली गरेपछि जेठ १६ गते बसेको पहिलो कार्यपालिका बैठकले ७ दिनभित्र कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको थियो । निर्णय कार्यान्वयन गर्दै आजदेखि राष्ट्रिय सभा गृहबाट कल सेन्टर सञ्चालनमा आएकाे हाे ।
कल सेन्टर महानगरलाई उत्तरदायी स्थानीय सरकारका रूपमा स्थापित गर्न नागरिकका गुनासा सुन्ने प्रणाली विकास गरिएको महानगरका प्रमुख बालेन्द्र शाह (बालेन) को भनाइ छ । उनले भने, ‘महानगर के गर्दैछरु जनताले सोध्न पाउनु पर्छ । आफ्ना समस्या राख्ने ठाउँ पाउनु पर्छ । यसका लागि जनताले कल सेन्टरले काम गर्नेछ ।’
सूचना प्रविधि विभागका प्रमुख नमराज ढकालका अनुसार सेन्टरबाट एकैपटक १५ वटा टेलिफोन रिसिभ गर्न सकिने छ । अहिले ५ वटाबाट नम्बरबाट सेवा थालिएकाे उनले बताए ।
अब महानगरसँग कुनै गुनासो गर्नु छ भने वा केही सोधपुछ गर्नु छ भने निःशुल्क टेलिफोन नं. १६६००१०५५११ मा सम्पर्क गर्न सकिनेछ ।
कल सेन्टरमा कसैले टेलिफोन गरेपछि त्यो सीडीआर (कल डिटेल रेकर्ड) महानगरको सर्भरमा रेकर्ड हुने व्यवस्था गरिएको छ ।
गुनासो वा सोधपुछकर्तासँग कुरा गर्दागर्दै अपरेटरले उनीहरुको फोन नं., फोन गरेको समय, गुनासो वा सोधपुछको विवरण, भौगोलिक नक्साजस्ता आधारभूत विवरण सफ्टवेयरमा भर्छन् ।
त्यसमा गुनासो वा सोधपुछसँग सम्बन्धित अधिकारीको विवरण पनि भरिन्छ । यो विवरण भरिसकेपछि प्रणालीले स्वचालित रुपमा गुनासो सुनुवाई गर्ने अधिकारी, प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई एसएमयस र इमेल पठाउँछ । इमेलमा गुनासोकर्ताको आवाज, समस्यासँग सम्बन्धित तस्विर, भौगोलिक नक्सा तथा विवरण समावेश हुन्छ । केन्द्र सञ्चालनका परामर्शदाता नवराज गुरुङ् भन्छन् , ‘अपरेटरको काम त्यतिले मात्र पूरा हुँदैन । भोलिपल्ट गुनासो सुनुवाई गर्ने अधिकारी वा वडाबाट प्रगति मागेर गुनासो गर्ने व्यक्तिलाई काम कहिलेसम्ममा हुन सक्छ भन्ने खबर पनि गर्नुपर्छ ।’
महानगरको सेवा, महानगरका वडा, विभाग, आयोजना तथा एकाईसँग सम्बन्धित सोधपुछ तथा गुनासा, महानगरीय सेवा तथा सुविधा वितरणसँग सम्बन्धित काम तथा महानगरसँग भएका अपेक्षा सम्बन्धि गुनासा तथा सोधखोजका लागि यो प्रणाली स्थापना गरिएको हो ।









